Below Menu
Below Menu

भारतीय अटो बजारमा रेकर्डः एक महिनामै सवा २५ लाख गाडी बिक्री, इभीको हिस्सा ११ प्रतिशत नाघ्यो

भारतीय अटो बजारमा रेकर्डः एक महिनामै सवा २५ लाख गाडी बिक्री, इभीको हिस्सा ११ प्रतिशत नाघ्यो

एजेन्सी : भारतमा सवारी साधन बिक्रीले मे महिनामा ऐतिहासिक रेकर्ड कायम गरेको छ। फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (एफएडीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मे महिनामा भारतमा कुल २५ लाख ३१ हजार ६७ युनिट सवारी साधन बिक्री भएका छन् । 

जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९.५५ प्रतिशतले बढी हो। गत वर्षको मे महिनामा २३ लाख १० हजार ४५१ युनिट सवारी साधन बिक्री भएको थियो। पछिल्लो समय सवारी साधनको बढ्दो माग र बजारको विस्तारले भारतीय अटोमोबाइल क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको जनाएको छ । 

मे महिनाको सबैभन्दा बढी विद्युतीय सवारी साधनको बिक्रीमा तीव्र वृद्धि रहेको  हो। भारतीय सञ्चार माध्यममा अनुसार कुल सवारी साधन बिक्रीमा (इभी) को हिस्सा ११ प्रतिशतभन्दा माथि पुगेको छ। यसले भारतको सवारी साधन बजारमा दिगो ऊर्जा र वैकल्पिक इन्धनतर्फ उपभोक्ताको झुकाव तीव्र रूपमा बढ्दै गएको देखिएको छ । 

मध्य पूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको उतारचढावले पेट्रोल र डिजेलको लागत बढाएको छ । जसको प्रत्यक्ष प्रभाव उपभोक्ताको खरिद क्षमतामा देखिएको हो। परिणामस्वरूप मानिसहरू बढी माइलेज दिने, हाइब्रिड तथा विद्युतीय सवारी साधनतर्फ आकर्षित भएका छन्।

यसैगरी मे महिनामा यात्रुवाहक सवारी साधन (कार) को बिक्री पनि उल्लेखनीय रुपमा बढेको छ। यस खण्डमा मात्र ४ लाख २ हजार ५९१ युनिट बिक्री भएको छ । जुन गत वर्षको तुलनामा २३.२५ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ३ लाख २६ हजार ६५६ युनिट कार बिक्री भएका थिए। 

विशेषगरी शहरी क्षेत्रमा व्यक्तिगत सवारी साधनप्रतिको आकर्षण बढ्दो रहेको उल्लेख छ । दुई पाङ्ग्रे सवारी साधनको बजार पनि मजबुत देखिएको छ। मे महिनामा १८ लाख ४४ हजार ९४७ युनिट मोटरसाइकल र स्कुटर बिक्री भएका छन्, जसले ७.५४ प्रतिशतको वार्षिक वृद्धि देखाएको छ। 

मोटरसाइकल र स्कुटर बिक्रीमा पनि विद्युतीय सवारी साधनको हिस्सा उल्लेखनीय रूपमा बढ्दै गएको छ। एक वर्षअघि करिब ६.११ प्रतिशत रहेको इभीको हिस्सा अहिले बढेर करिब ९.२५ प्रतिशत पुगेको छ। 

विशेषगरी इन्धन मूल्यको दबाब र दैनिक आवागमनका लागि सस्तो विकल्प खोज्ने उपभोक्ताका कारण इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको माग तीव्र बनेको व्यवसायीहरूको भनाइ छ।

तीन पाङ्ग्रे सवारी साधनको बिक्री पनि सकारात्मक देखाएको छ। गत महिनामा यस वर्गमा १ लाख ११ हजार ५२६ युनिट बिक्री भएको छ । जुन गत वर्षको तुलनामा ३.५६ प्रतिशतले बढी हो। 

यस्तै व्यावसायिक सवारी साधनमा पनि ५.२९ प्रतिशतको वृद्धि देखिँदै ८३ हजार ८२३ युनिट बिक्री भएको छ। यो वृद्धि ढुवानी र सेवा क्षेत्रको विस्तारसँग सम्बन्धित माग बढेको कारण भएको अनुमान गरिएको छ।

यद्यपि निर्माण क्षेत्रका (कन्ट्रक्सन इक्यिुपमेन्ट) गाडीमा भने गिरावट देखिएको छ। अघिल्लो वर्षको उच्च आधार प्रभाव र केही परियोजनामा सुस्तताका कारण यस क्षेत्रमा बिक्री १७.५१ प्रतिशतले घटेको बताइएको छ।

Advertisment

थप समाचार