Below Menu
Below Menu

पशुपति क्षेत्र सुधारको दाबीसहित हुमागाईंको उम्मेदवारी, सातबुँदे कार्ययोजना सार्वजनिक

पशुपति क्षेत्र सुधारको दाबीसहित हुमागाईंको उम्मेदवारी, सातबुँदे कार्ययोजना सार्वजनिक

काठमाडौं : कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदका लागि उम्मेदवारी दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको रोष्टर प्रक्रियामा उनले पशुपति क्षेत्रको सुधार र व्यवस्थापनका लागि सातबुँदे कार्ययोजनासहित आवेदन दिएका हुन्।

काभ्रेको खोपासीस्थित श्री नरसिंह मठमा आयोजित धार्मिक अनुष्ठानका क्रममा हुमागाईंले पशुपति क्षेत्रको नेतृत्व इमानदार, आध्यात्मिक चेतनायुक्त र सार्वजनिक सेवाप्रति समर्पित व्यक्तिलाई दिनुपर्ने धारणा राखेका थिए। उनले विगतमा भएका व्यवस्थापकीय कमजोरी र आर्थिक अनियमितताका कारण धार्मिक क्षेत्रको गरिमा प्रभावित भएको भन्दै सुधार आवश्यक रहेको बताए।

हुमागाईंले पदमा नियुक्त भए तलब, भत्ता तथा सरकारी सुविधा नलिने घोषणा गरेका छन्। उनले कोषमा आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता अनिवार्य बनाउने तथा भेटीघाटीलाई धार्मिक, सामाजिक र परोपकारी कार्यमा मात्र प्रयोग गर्ने व्यवस्था गर्ने बताएका छन्।

उनको कार्ययोजनामा पशुपतिनाथ मन्दिरको पूजा व्यवस्थापन सुधार, अभिषेकका लागि शुद्ध जल आपूर्ति, दर्शन व्यवस्थापनलाई सहज बनाउने व्यवस्था तथा धार्मिक गतिविधिको शास्त्रीय र परम्परागत अभ्यासलाई व्यवस्थित गर्ने प्रस्ताव समावेश छ।

त्यसैगरी, आगामी तीन वर्षभित्र कोषलाई सरकारी बजेटमा निर्भर नरहने गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसमेत प्रस्तुत गरिएको छ। कोषअन्तर्गतका सम्पत्ति, धर्मशाला र जग्गाको पारदर्शी व्यवस्थापन गर्ने तथा सार्वजनिक बोलकबोल प्रक्रियामार्फत भाडा प्रणाली सञ्चालन गर्ने योजना रहेको छ।

सम्पदा संरक्षणअन्तर्गत जीर्ण अवस्थामा रहेका मन्दिर तथा धार्मिक संरचनाको पुनर्निर्माण, बन्द रहेका धर्मशाला तथा सत्तलहरूको पुनः सञ्चालन तथा अतिक्रमित गुठी जग्गा संरक्षणलाई प्राथमिकतामा राखिएको छ।

आर्यघाट तथा विद्युतीय शवदाह गृहलाई व्यवस्थित बनाउने, विपन्नका लागि निःशुल्क शवदाह तथा काजकिरिया सेवा उपलब्ध गराउने तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा पशुपति क्षेत्रको प्रचारप्रसार गर्ने योजना पनि उनले अघि सारेका छन्।

त्यस्तै, वेद विद्याश्रम विस्तार, हिन्दू विश्वविद्यालय स्थापना तथा आयुर्वेद चिकित्सालय सञ्चालन गर्ने अवधारणा प्रस्तुत गरिएको छ। पशु संरक्षणलाई पनि कार्ययोजनामा समेटिएको छ।

हुमागाईंले पशुपति क्षेत्रलाई भ्रष्टाचारमुक्त, व्यवस्थित र विश्व हिन्दू आस्थाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेका छन्। उनले “सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण–समृद्ध पशुपति, गौरवशाली नेपाल” भन्ने नारासमेत अघि सारेका छन्।
 

Advertisment

थप समाचार