काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुम्निमा उदासले नेपालमा विदेशी पर्यटकको संख्या निरन्तर बढिरहे पनि उनीहरूको व्यवस्थापन र सेवा प्रवाहमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेकी छिन् ।
प्रतिनिधिसभामा बोल्दै उनले नेपालले वर्षौंदेखि पर्यटक भित्र्याउने लक्ष्य लिएको र अहिले त्यसमा सफलता हासिल गर्न थालेको उल्लेख गर्दै अब पर्यटकको संख्या मात्र होइन, उनीहरूको अनुभव र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन्।
उनले मे महिनामा नेपाल आएका विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत भारतीय पर्यटक रहेको बताउँदै पोखरा, मुक्तिनाथ र जोमसोमलगायत प्रमुख पर्यटकीय गन्तव्यहरूमा भीड बढ्दै गएको बताइन्। चीनको कुल जनसंख्यामध्ये हाल करिब १० प्रतिशतसँग मात्र पासपोर्ट रहेको उल्लेख गर्दै उनले आगामी दिनमा यो संख्या बढे नेपालले अझ ठूलो पर्यटक चाप सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताइन् ।
सांसद उदासले बढ्दो पर्यटक आगमनलाई अवसरका रूपमा उपयोग गर्न पर्यटन क्षेत्रको दीर्घकालीन योजना आवश्यक रहेको बताइन्। उनले पर्यटन क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि सरकारले ‘नेपाल टुरिजम डेभलपमेन्ट अथोरिटी’ गठन गर्नुपर्ने प्रस्ताव समेत राखिन्।
उनले भनिन्, ‘नेपालले टुरिजम गभर्नेन्सलाई पुनर्विचार गरोस्। हामीलाई नेपाल टुरिजम डेभलपमेन्ट अथोरिटीको आवश्यकता छ, जसले डेस्टिनेसन प्लानिङ एन्ड को अर्डिनेसन, पर्यटकको तथ्याङ्क व्यवस्थापन, ब्रान्डिङ एन्ड प्रमोसन र मानव संसाधन विकासलाई एकीकृत रूपमा अगाडि बढाउन सकोस्। श्रीलङ्का र थाइल्यान्डले यसै सफल मोडेल अपनाएका छन्। पर्यटक संख्या बढ्नु मात्र सफलता होइन, उनीहरूलाई राम्रो अनुभव दिन सक्नु हाम्रो वास्तविक सफलता हो।’
Advertisment