Below Menu
Below Menu

बैंकरका पीडा संसदमा, कर्मचारीका समस्या सुन्न सिईओहरूसँग छलफल गर्न सांसद सिद्धिकीको आग्रह

बैंकरका पीडा संसदमा, कर्मचारीका समस्या सुन्न सिईओहरूसँग छलफल गर्न सांसद सिद्धिकीको आग्रह

काठमाडौं : नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूको सेवा–सुविधा र मानसिक स्वास्थ्यका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिद्धिकीले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले विभिन्न प्रकारका समस्या भोगिरहेको बताइन्।

उनले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूको तलब–सुविधा अपेक्षाअनुसार नभएको, पर्याप्त बिदा नपाइने तथा लामो समयसम्म अतिरिक्त काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गरिन्। विशेषगरी महिला बैंकरहरूले कार्यस्थलमा थप चुनौती सामना गर्नुपरेको भन्दै उनले यस विषयलाई गम्भीर रूपमा लिन आग्रह गरिन्।

सांसद सिद्धिकीले बैंकिङ क्षेत्रमा बढ्दो कार्यचाप र मानसिक तनावका कारण कर्मचारीहरू प्रभावित भइरहेको बताउँदै यसले उनीहरूको व्यक्तिगत तथा पारिवारिक जीवनमा समेत असर पुर्याएको धारणा राखिन्। बैंकभित्र हुने आत्महत्याका घटनाहरू बढिरहेको विषयलाई पनि उनले चिन्ताजनक भएको बताइन्।

‘बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको समस्या समाधान गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पहल गर्नुपर्छ,’ उनले भनिन्। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गरी कर्मचारीहरूले भोगिरहेका समस्याको समाधान खोज्न आवश्यक रहेको उनको भनाइ थियो।

सांसद सिद्धिकीले बैंकिङ क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकाले त्यहाँ कार्यरत जनशक्तिको मनोबल, सुरक्षा र सम्मान सुनिश्चित गर्न सरकार तथा नियामक निकायले विशेष ध्यान दिनुपर्ने बताइन्। 

उनले बैंकिङ क्षेत्रमा देखिएका श्रम, सेवा–सुविधा तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याको अध्ययन गरी दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरिन्।

Advertisment

थप समाचार