नयाँ दिल्ली : भारतका विभिन्न राज्यहरूमा जारी खराब मौसमका कारण जनजीवन प्रभावित भएको छ। राजधानी दिल्लीमा प्रतिकूल मौसमका कारण दुईवटा उडान जयपुरतर्फ डाइभर्ट गरिएका छन् भने उत्तर प्रदेश, पञ्जाब, बिहार, राजस्थानलगायत राज्यहरूमा आँधीबेहरी, मेघगर्जन र वर्षाले असर पारेको छ।
राजस्थानका विभिन्न जिल्लामा मेघगर्जनसहित वर्षा भएको छ। त्यस्तै मध्य प्रदेश, उत्तर प्रदेश, बिहार, पञ्जाब, दिल्ली र पश्चिम बंगालमा पनि वर्षा भएपछि केही क्षेत्रमा तापक्रम घटे पनि अधिकांश स्थानमा गर्मीको प्रभाव कायम रहेको छ।
भारतीय मौसम विभागका अनुसार यस वर्षको मनसुन जुन ४ मा केरला पुगेपछि तीव्र गतिमा अघि बढ्दै दुई दिनभित्र पाँच राज्यमा फैलिएको थियो। तर पछिल्लो सात दिनदेखि मनसुनको गति सुस्त बनेको छ।
चेन्नई, तमिलनाडु, महाराष्ट्रको हरनाई क्षेत्र तथा पश्चिम बंगालको सिलिगुडी आसपास मनसुनको विस्तार रोकिएको छ। मौसमविद्हरूले आगामी तीन दिनभित्र मनसुनले महाराष्ट्र, तेलंगाना र आन्ध्र प्रदेशका बाँकी भूभागसमेत समेट्ने अनुमान गरेका छन्।
मनसुन पूर्ण रूपमा सक्रिय हुनुअघि नै उत्पन्न भएका प्रि–मनसुन गतिविधिले गुजरात बाहेक भारतका अधिकांश राज्य प्रभावित बनेका छन्। तीव्र हावाहुरी, मेघगर्जन र वर्षाले विभिन्न स्थानमा भौतिक क्षति पुर्याएको छ।
उत्तर प्रदेशमा आँधीबेहरीका कारण ठूलो क्षति भएको छ। चित्रकूटमा करिब ४ करोड ५० लाख भारतीय रुपैयाँ लागतमा निर्माण गरिएको अडिटोरियमको छाना उडेको छ भने एक पेट्रोल पम्पको छाना समेत भत्किएको छ। इटावा, सीतापुर र फिरोजाबाद जिल्लामा आँधीबेहरीसँग सम्बन्धित विभिन्न दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।
पञ्जाबको मानसा जिल्लामा पनि हावाहुरीका कारण दुःखद घटना भएको छ। तीव्र आँधीका क्रममा फलामको ठूलो ढोका भत्किँदा नौ वर्षीय एक बालकको ज्यान गएको छ।
उता बिहारमा बाक्लो बादल र खराब मौसमका कारण राजधानी पटना, बक्सर, सुपौललगायत पाँच जिल्लामा बिहानैदेखि अन्धकारमय अवस्था सिर्जना भएको थियो। दृश्यता कम भएपछि चालकहरूले दिनमै सवारी साधनको बत्ती बालेर यात्रा गर्नुपरेको थियो। ती क्षेत्रमा हावाहुरीसँगै वर्षा पनि भएको छ।
मौसम विभागले बिहीबार राजस्थान, मध्य प्रदेश, उत्तर प्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, ओडिशा, दिल्ली, पञ्जाब, हरियाणा, हिमाचल प्रदेश, उत्तराखण्ड, जम्मू–कश्मीर, पश्चिम बंगाल, सिक्किम, अरुणाचल प्रदेश, आसाम, मेघालय, तमिलनाडु, केरला, कर्नाटक, आन्ध्र प्रदेश तथा गोवासहित २२ राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ। गुजरात बाहेक अधिकांश राज्यमा पहेंलो सतर्कता जारी गरिएको छ।
वर्षा भए पनि गर्मीबाट भने पूर्ण राहत मिल्न सकेको छैन। उत्तर प्रदेश, दिल्ली, राजस्थान, मध्य प्रदेश, महाराष्ट्र, गुजरात, पञ्जाब र हरियाणाका धेरै शहरमा तापक्रम अझै ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ।
देशकै सबैभन्दा उच्च तापक्रम पञ्जाबको भटिण्डामा ४६.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। त्यसपछि राजस्थानको श्रीगंगानगरमा ४५.९ डिग्री, महाराष्ट्रको ब्रह्मपुरीमा ४५.५ डिग्री, उत्तर प्रदेशको बांदामा ४५.४ डिग्री तथा मध्य प्रदेशको खजुराहोमा ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
मौसमविद्हरूले आगामी केही दिनसम्म देशका अधिकांश क्षेत्रमा वर्षा, मेघगर्जन र आँधीबेहरीको क्रम जारी रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
Advertisment