काठमाडौं : त्रिवेणी स्पिनिङ मिल्सले सन् २०२५ मा तीन अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब ४३ प्रतिशतले बढी हो ।
सन् २०२४ मा कम्पनीले २ अर्ब ४३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा कम्पनीले २ अर्ब ३८ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार निरन्तर रुपमा बढिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षको दश महिनामै २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ । विशेषगरी भारततर्फको निर्यात बिक्री उल्लेखनीय रुपमा बढेका कारण कम्पनीको व्यापा। बढेको रिपोर्टमा उल्लेख छ ।
कम्पनीले मुख्य रुपमा भारत र टर्कीमा उत्पादन बिक्री गर्दै आएको छ । कम्पनीको कुल बिक्रीमध्ये करिब ४३ प्रतिशत हिस्सा भारत र टर्कीमा हुने निर्यातबाट आएको छ । अघिल्लो वर्ष यो हिस्सा ७२ प्रतितश रहेको थियो ।
व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२४ मा २.११ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा सन् २०२५ मा बढेर ४.४ प्रतिशत पुगेको छ । कच्चा पदार्थको लागत घटेका कारण सञ्चालन नाफा मार्जिन बढेको कम्पनीले जनाएको छ ।
यद्यपी कम्पनीको खुद नाफा भने बढ्न सकेको छैन । उच्च ब्याज खर्चका कारण कम्पनीको खुद नाफा र नगद सञ्चिति ऋणात्मक रहेको कम्पनीले जनाएको छ । कम्पनीको कुल ऋण-पुँजी अनुपात ३.७८ गुणा पुगेको छ ।
लगातार घाटाका कारण कम्पनीको नेटवर्थ कमजोर बन्दै गएको र ब्याज तिर्ने क्षमतामा पनि कमजोर रहेको रिपोर्टमा उल्लेख छ । कम्पनीले ३२ करोड १० लाख रुपैयाँ बराबरको दायित्व किस्ताबन्दीमा तिर्नुपर्ने रहेको छ ।
बारा जिल्लाको छातापिप्रामा रहेको उद्योगको वार्षिक धागो उत्पादन क्षमता १८ हजार मेट्रिक टन रहेको छ । कम्पनीले पोलिएस्टर, भिस्कोस, एक्रिलिक, मेलान्ज तथा विभिन्न मिश्रित धागो उत्पादन गर्दै आएको छ ।
कम्पनीका उत्पादनहरू स्वदेशी बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री तथा निर्यात हुँदै आएका छन्। कम्पनी सांघाई ग्रुपद्वारा सञ्चालित छ ।कम्पनीका अध्यक्ष रामचन्द्र सांघाई रहेका छन् ।
कम्पनीले कुल बैंकिङ सुविधा करिब ३ अर्ब ३ करोड ७० लाख रुपैयाँ बराबर रहेको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि एक अर्ब ३० करोड २६ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि एक अर्ब ७३ करोड ४३ लाख रुपैयाँको रेटिङ गराएको छ ।
त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड सन् १९९५ मा निजी कम्पनीका रूपमा स्थापना भएको उद्योग हो । कम्पनीलाई पछि १३ जुलाई २०२३ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको थियो ।
Advertisment