काठमाडौं : सरकारले नेपाल लेखामान बोर्डको अध्यक्षमा सिए रमेश धिताल नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोक चौतारा नगरपालिका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट धिताललाई नियुक्त गरेको हो ।
लेखाव्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्नका लागि सरकारले धिताललाई सो जिम्मेवारी सुम्पेको हो ।
अर्थमन्त्रालय स्रोतका अनुसार नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय प्रतिवेदन मान कार्यान्वयनको क्षेत्रमा २० वर्षभन्दा बढीको गहन अनुभव रहेको छ ।
नेपालमा लेखामानको कार्यान्वयन, बैंक वित्तीय संस्थामा एनएफआरएस एवं इसीएल कार्यान्वयनमा नेतृत्वदायी भुमिका खेली सूचना प्रविधि लेखापरीक्षणलाई समेत परिष्कृत एवं विशिष्टीकृत बनाउन उनले उल्लेखिय भुमिका खेलेका छन् ।
धितालले आफ्नो व्यावसायिक यात्रा विश्वको प्रतिष्ठित ’बिग ४’ मध्येको एक वित्तीय परामर्शदाता कम्पनी अन्स्र्ट एण्ड यंग, मुम्बईबाट सुरु गरेका थिए । उनले नेपालका प्रतिष्ठित संस्थाहरू जस्तैः नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरण लगायतका दर्जनौँ बैंकिङ, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीहरूको लेखापरीक्षण तथा कन्सल्टी सेवा नेतृत्व गरिसकेका छन् । एसियाली विकास बैंकका विभिन्न परियोजनाहरुमा उनले विभिन्न भुमिका एवं जिम्मेवारीमा समेत कार्य गरिसकेका छन् ।
उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवको रुपमा रही सफलतापूर्वक आफ्ना जिम्मेवारी पुरा गरेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको अनुशासन समिति लगायत विभिन्न समितिमा रहेर कार्य गरी सकेका धिताल हाल परीक्षा समिति सदस्य हुन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा विभिन्न तहका अध्ययन सामाग्री तयारीमा अमुल्य योगदान दिएका धितालले विभिन्न विश्वविद्यालय तथा प्रशिक्षण केन्द्रहरूमा संकाय सदस्यका रूपमा योगदान पुर्याउँदै आएका छन् । यसअघि पनि उनले लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डमा सल्लाहकारका रूपमा प्राविधिक योगदान दिइसकेका छन् ।
धितालले नेपाल तथा भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी गरेका छन् । उनीसँग पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए, अमेरिकाको ISACA बाट सिसा, र बेलायतको एसीसीएबाट डिपआईएफआर जस्ता उच्च व्यावसायिक र प्राविधिक योग्यताहरू रहेका छन् ।
नेपालमा वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय परिमार्जन र उत्कृष्ट अभ्याससँग जोड्न र नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन नवनियुक्त अध्यक्ष धितालको प्राविधिक विशेषज्ञता र नेतृत्वले बोर्डलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।
उनको विज्ञता र क्षमताको आधारमा नेपाल लेखामान बोर्डको लागि योग्य देखिएकोले नै उनलाई नियुक्ति गरिएको जानकारी अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले बताए।
Advertisment