काठमाडौं : संसद रहबर अन्सारिले नेपालको प्राकृतिक जैविक विविधताका साथै यहाँको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने कुरामा जोड दिएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले जैविक विविधता प्रकृतिको सम्पत्ति भए जस्तै सांस्कृतिक विविधता राज्यको अमूल्य सम्पत्ति भएको कुरा उल्लेख गरे ।
सन् २०१० को अन्तर्राष्ट्रिय महासन्धिप्रतिको प्रतिबद्धतामा हामी १६ वर्ष र देशको संविधान कार्यान्वयनको प्रतिबद्धतामा ११ वर्ष ढिला भइसकेको स्वीकार गर्दै, यो विधेयक अपरिहार्य रहेको उनले बताए ।
छलफलका क्रममा विश्वभर बढ्दै गएको ‘संस्कृतिको समतलीकरण’ (फ्ल्याटनिङ अफ कल्चर) को गम्भीर समस्याप्रति ध्यानाकर्षण गराइएको थियो, जहाँ भूमण्डलीकरण, डिजिटलाइजेसन, सामाजिक सञ्जाल, पर्यटन र अत्यधिक उपभोक्तावादका कारण स्थानीय रैथाने संस्कृतिहरू ओझेलमा पर्दै गएका छन्।
सांसदले विश्वका अन्य संसदहरूको उदाहरण दिँदै कतिपय देशमा घोडाको पुच्छरको रौंले बनेको विग लगाउने चलन रहेको तर हाम्रा सभामुखले गौरवका साथ रैथाने पहिचान झल्काउने ढाका टोपी लगाउने गरेको स्मरण गराए। यस्ता मौलिक पहिचान र विविधता जोगाउन पहिचान, अभिलेखीकरण, र संरक्षण गरी तीनवटा कुरामा जोड दिनुपर्ने धारणा उनले राखे।
विशेष गरी, संरक्षणको अर्थ सम्पदाहरूलाई नेपाली कागजको कोस्टामा लेखेर वा ल्याप्चे लगाएर र्याकमा कुहाएर राख्नु मात्र नभएको कुरामा जोड दिइयो। यो विधेयकलाई पूर्ण रूपमा सार्थक बनाउन पुस्ताौँदेखि यी रैथाने ज्ञान र संस्कृतिलाई हस्तान्तरण गर्दै आएका व्यक्ति, सरोकारवाला र समुदायलाई आर्थिक रूपमा सशक्त बनाउनु पर्ने माग गरिएको छ। सांस्कृतिक धरोहरका संवाहकहरूलाई आर्थिक रूपमा बलियो नबनाएसम्म, यस विधेयकको वास्तविक उद्देश्य प्राप्त हुन नसक्ने बताए ।
Advertisment