Below Menu
Below Menu

पूर्वाञ्चल ल्युब आयलले गर्यो नौ महिनामै साढे ६७ करोडको व्यापार, ऋण तिर्ने क्षमतामा उल्लेख्य सुधार

पूर्वाञ्चल ल्युब आयलले गर्यो नौ महिनामै साढे ६७ करोडको व्यापार, ऋण तिर्ने क्षमतामा उल्लेख्य सुधार

काठमाडौं : पछिल्ला वर्षहरुमा पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पीएलओ) को व्यापार निरन्तर रुपमा बढिरहेको छ । चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले ६७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । 

सन् २०२५ मा कम्पनीले ८९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब १२ प्रतिशतले बढी हो ।

कम्पनीले सन् २०२४ मा ७८ करोठ ७७ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा कम्पनीले ७७ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२४ मा १७.७५ प्रतिशत यस्तो नाफा मार्जिन रहेको थियो । यद्यपी कच्चा पदार्थको मूल्य वृद्धिका कारण सन् २०२५ मा सञ्चालन नाफा मार्जिन केही घटेर १५.८८ प्रतिशतमा झरेको थियो । तथापी चालु आवको नौ महिनामा नाफा मार्जिन १७.०७ प्रतिशत कायम रहेको छ ।

सन् २०२५ मा कम्पनीको कुल गियरिङ अनुपात ०.८० गुणामा सीमित रहेको थियो भने चालु आर्थिक वर्षको नौ महिनामा शेयरधनीमार्फत २० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरेपछि यो अनुपात थप घटेर ०.६१ गुणामा झरेको छ ।

कम्पनीको ऋण तिर्ने क्षमता पनि निरन्तर सुधारिएको छ । ब्याज भुक्तानी क्षमता आर्थिक वर्ष २०८०÷८१ को २.३१ गुणाबाट बढेर आर्थिक वर्ष २०८१÷८२ मा ३.२१ गुणा पुगेको छ । कम्पनीको सञ्चालन नाफामा वृद्धि र ब्याजदर घटेका कारण ब्याज खर्च कम हुँदा ऋण तिर्ने क्षमतामा सुधार आएको हो । 

चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा यो अनुपात अझ बढेर ४.८० गुणा पुगेको छ । त्यस्तै कुल ऋण र नगद आम्दानीबीचको अनुपात पनि ६.७६ गुणाबाट घटेर ५.५९ गुणा र पछि ४.८४ गुणामा झरेको छ । 

कम्पनीको नगद आम्दानी पनि बढ्दो क्रममा रहेको छ । सन् २०२४ मा ७ करोड ५० लाख रुपैयाँ रहेको नगद आम्दानी सन् २०२५ मा बढेर ८ करोड ९० लाख रुपैयाँ पुगेको थियो । चालु आवको नौ महिनामा ८ करोड १० लाख रुपैयाँ रहेको छ । 

यस अवधिमा कम्पनीको खुद नाफा मार्जिन ९.२५ प्रतिशत पुगेको छ । निरन्तर नाफा कमाउँदै आएको कम्पनीले आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म नियमित रुपमा शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ  । 

सन् २००१ मा स्थापना भएको पूर्वाञ्चल ल्युब आयल प्रालि सन् २०२२ बाट पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीले गाडीमा प्रयोग हुने लुब्रिकेन्ट र ग्रिसको उत्पादन र बिक्री वितरण गर्दै आएको छ । 

कम्पनीले देशभर ४८ वटा थोक वितरकमार्फत उत्पादन बिक्री गर्दै आएको छ । पीएलओ ग्रुप अन्तर्गत सञ्चालित कम्पनीका बोर्ड अध्यक्षमा भने कृष्ण प्रसाद दुलाल रहेका छन् । मोरङको सुन्दरहरैँचामा रहेको कम्पनीले पीएलओ, स्टार, मेगा र सुरक्षा ब्राण्डमार्फत लुब्रिकेन्ट तथा ग्रीस उत्पादन गर्दै आएको छ ।

नेपालमा लुब्रिकेन्ट उत्पादन तथा बिक्री गर्दै आएको पुर्वाञ्चल ल्युब आयल लिमिटेडको क्रेडिट रेटिङ यथावत् कायम गरिएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई दीर्घकालिन कर्जामा बीबीबी माइनस र अल्पकालिन कर्जामा एफोर रेटिङ प्रदान गरेको छ । 

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ७४ करोड २३ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । यसअघि ७८ करोड ३३ लाख रुपैयाँ बराबरको ऋण लिएको थियो । कम्पनीले दीर्घकालिन कर्जाका लागि २२ करोड ७३ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि ५१ करोड ५० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । 

 

Advertisment