काठमाडौं : नेपालमा एमजी, माज्दा र वुलिङ ब्राण्डका सवारी साधनको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सको व्यापार सन् २०२५ मा ६.३० प्रतिशतले घटेको छ । खासगरी विद्युतीय सवारी साधनमा तीव्र प्रतिस्पर्धा र सुस्त आर्थिक गतिविधिका कारण कम्पनीको कारोबा र नाफा दुवैमा दबाब देखिएको हो ।
कम्पनीले सन् २०२५ मा ३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । सन् २०२४ मा कम्पनीले ४ अर्ब १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ मा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो भने सजन् २०२२ मा ३ अर्ब ४७ करोड रुपैयाँको व्यापार गरेको थियो ।
पछिल्ला वर्षहरुमा कम्पनीको व्यापारमा उतारचढाव देखिएको छ । यद्यपी चालु आर्थिक वर्षको नौ महिनामा भने २ अर्ब ४० करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ ।
सन् २०२५ को कुल आम्दानीमध्ये करिब ४२ प्रतिशत हिस्सा एमजी एस–५ मोडेलबाट आएको छ । त्यस्तै एमजी–४ ईभी र एमजी एस–५ मोडेलबाट मात्रै कम्पनीको कुल आम्दानीको करिब ८७ प्रतिशत हिस्सा आएको थियो ।
यसका साथै कम्पनीले हालै एमजी एस–६ बजारमा ल्याएको छ भने वुलिङ ब्रान्ड अन्तर्गत थप विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने तयारीमा रहेको छ । कम्पनीसँग देशभर तीन वटा आफ्नै शोरुम तथा १५ वटा डिलर नेटवर्क रहेको छ ।
कम्पनीले मर्सिडिज बेन्ज ब्रान्डका सवारीसाधनका लागि नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालन गर्ने योजना पनि अघि बढाएको छ । कम्पनीले काठमाडौं, विराटनगर भरतपुर, बुटवल, नेपालगञ्ज लगानतका प्रमुख शहरहरुमा डिलर सञ्चालनमा ल्याएको छ ।
पछिल्ला वर्षहरूमा बजारमा विद्युतीय सवारी साधनको मूल्य प्रतिस्पर्धा बढ्दा कम्पनीको सञ्चालन नाफा मार्जिन लगातार घट्दो क्रममा रहेको छ । सन् २०२४ मा ६.८ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा घटेर ५.२ प्रतिशतमा झरेको छ । चालु आवको नौ महिनामा यस्तो मार्जिन ६ प्रतिशत कायम रहेको छ ।
कम्पनीले बजार हिस्सा जोगाउन र नयाँ मोडलहरुको माग पुरा गर्न ठूलो परिणाममा सवारीसाधनको मौज्दात राख्दै आएको छ । जसका कारण कार्यशील पुँजीमा ठूलो लगानी गर्नुपरेको रिपोर्टमा उल्लेख छ । यसको प्रत्यक्ष असर कम्पनीको तरलता तथा ऋण व्यवस्थापनमा परेको छ । सन् २०२५ मा कम्पनीको कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात ९ गुणासम्म पुगेको छ ।
अटोमोबाइल डिलरशिप व्यवसाय स्वभावतः उच्च कार्यशील पुँजी आवश्यक पर्ने क्षेत्र भए पनि कम्पनीले पछिल्ला वर्षहरूमा सवारीसाधनको भण्डारण उल्लेख्य रूपमा बढाएकाले यसको प्रभाव वित्तीय सूचकहरूमा देखिएको छ। कम्पनीको नेट वर्किङ क्यापिटल टु अपरेटिङ इन्कम अनुपात सन् २०२५ को करिब ५६ प्रतिशतबाट बढेर सन् २०२६ को पहिलो नौ महिनामा ६६ प्रतिशत पुगेको छ।
यसैगरी बढ्दो ऋण तथा घट्दो नाफाका कारण कम्पनीको ब्याज तिर्ने क्षमता पनि कमजोर देखिएको छ । कम्पनीको ब्याज कभरेज रेसियो सन् २०२४ मा १.९ गुणा रहेकोमा सन् २०२५ मा १.७ गुणामा झरेको थियो भने चालु आवको नौ महिनामा यो १.३ गुणासम्म सीमित भएको छ ।
सन् २०१६ मा स्थापना भएको प्यारामाउन्ट मोटर्स नेपालमा एमजी ब्रान्डको आधिकारिक राष्ट्रिय वितरक हो । कम्पनीले सन् २०२० देखि माज्दा ब्रान्डका सवारीसाधन र सन् २०२४ देखि वुलिङ ब्रान्डका विद्युतीय सवारीसाधनको बिक्री–वितरण पनि गर्दै आएको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौंको नक्सालमा रहेको छ ।
मोरिस ज्यारेजेज (एमजी) बेलायतको पुरानो मोटर उत्पादक कम्पनी हो । कम्पनीको स्वामित्व हाल चिनियाँ अटोनिर्माता सांघाईको अटोमोटिभ एसएआईसी मोटर कर्पोरेसन लिमिटेड अन्तर्गत रहेको छ । नेपालमा बिक्री हुने गाडीहरु चीनस्थित एसएआईसी मोटर उत्पादक केन्द्रबाट आयात गरिन्छन् ।
नेपाली बजारमा कम्पनीले हुण्डाई मोटर कम्पनी, होण्डा, टोयोटा मोटर कर्पोरेसन, निसान मोटर कर्पोरेसन, फक्सवागन, फोर्ड मोटर कम्पनी, टाटा मोटर्स र जीप जस्ता स्थापित कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कम्पनीले बिक्री सञ्जालसँगै चार्जिङ स्टेसन विस्तारमा पनि तिव्रता दिएको छ । हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन् । ग्राहकहरुको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ ।
यी स्थानहरुमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरु स्थापना गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन् ।
कम्पनीले अल्पकालिन बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब ८० करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ ।
Advertisment