काठमाडौं : नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेपछि संयुक्त संस्थाको पुँजीकोष अवस्था नियामकीय मापदण्डअनुसार सुधार हुने देखिएकाले राष्ट्र बैंकले उक्त कारवाही हटाउने निर्णय गरेको हो।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण तथा आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासको गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा निकै तल पुगेको देखिएको थियो।
त्यसपछि राष्ट्र बैंकले २०८१ माघ २३ गतेको पत्रमार्फत बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) अनुसार पोखरा फाइनान्समाथि शीघ्र सुधारात्मक कारवाही लागू गरेको थियो।
यस अवधिमा संस्थाले आफ्नो वित्तीय अवस्था सुधार गर्न विभिन्न उपाय अवलम्बन गरेको थियो। सोही क्रममा समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभ्ने प्रक्रिया अघि बढाइएको थियो। गाभ्ने प्रक्रियालाई राष्ट्र बैंकको समितिले २०८३ वैशाख १७ गते अन्तिम स्वीकृति प्रदान गरेपछि संयुक्त संस्थाको वित्तीय अवस्थाको पुनः मूल्याङ्कन गरिएको थियो।
राष्ट्र बैंकका अनुसार २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा एकीकृत संस्थाको संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत रहने देखिएको छ। यो अनुपात नियामकीय आवश्यकताअनुसार स्वीकार्य हुने निष्कर्षपछि राष्ट्र बैंकको समितिले २०८३ असार १० गतेको निर्णयबाट पोखरा फाइनान्समाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले उक्त निर्णय समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एकीकृत कारोबार सुरु हुने मितिदेखि नै लागू हुने जनाएको छ। यससँगै गाभिएपछि सञ्चालनमा आउने संयुक्त संस्थाले नियामकीय व्यवस्था अनुरूप नियमित रूपमा कारोबार सञ्चालन गर्न सक्ने बाटो खुलेको छ।
Advertisment