Below Menu
Below Menu

बुडोल सामुदायिक सहकारीद्वारा एसईई उत्तीर्ण १९८ विद्यार्थी सम्मान, उत्कृष्टलाई नगद पुरस्कार

बुडोल सामुदायिक सहकारीद्वारा एसईई उत्तीर्ण १९८ विद्यार्थी सम्मान, उत्कृष्टलाई नगद पुरस्कार

काभ्रेपलाञ्चोक : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एसईई परीक्षा २०८२ मा सफल भएका संस्थासँग आबद्ध १९८ जना विद्यार्थीलाई सम्मान गरेको छ।

संस्थाअन्तर्गत शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा शनिबार बनेपा–६, बुडोलस्थित चेतना केन्द्रको सभा हलमा आयोजित एसईई सम्मान कार्यक्रम २०८३ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना पत्रसँगै विद्यालय/कलेज ब्याग मायाको चिनोस्वरूप प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई विशेष सम्मानसमेत गरिएको थियो। संस्थागत विद्यालयतर्फ छात्रा इशिका के.सी. तथा छात्र कृतिक दाहाल र आदित्य सापकोटा, साथै सामुदायिक विद्यालयतर्फ छात्रा श्रीया खत्री र छात्र सचिन गिरीलाई जनही रु. ५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रम शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक गायत्री खड्काको सभापतित्व तथा प्राध्यापक एवं शिक्षाविद् भोलाबहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन उपसमिति सदस्य तारानाथ बजगाईले गरेका थिए।

संयोजक गायत्री खड्काले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक उपलब्धिले संस्थाको गौरव बढाएको बताइन्। संस्थाका अध्यक्ष कैलाश के.सी.ले सहकारीले बचतसँगै शिक्षा, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिए।

प्रमुख अतिथि प्राध्यापक भोलाबहादुर के.सी.ले शिक्षा नै व्यक्तिको जीवन परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै अनुशासन, निरन्तर अध्ययन र सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गरे।

बुडोल सामुदायिक सहकारीले हरेक वर्ष उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्दै शिक्षा क्षेत्रमा प्रोत्साहन प्रदान गर्दै आएको छ।

Advertisment