Below Menu
Below Menu

शिक्षा र डिजिटल सुरक्षामा चन्द्रागिरि साकोसको पहल, ६२ विद्यार्थीलाई छात्रवृत्ति

शिक्षा र डिजिटल सुरक्षामा चन्द्रागिरि साकोसको पहल, ६२ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति वितरण तथा अनलाइन सुरक्षा एवं डिजिटल ठगीविरुद्ध सचेतना कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो सत्रमा सूचना प्रविधि विज्ञ नविन कार्कीले ‘अनलाइन सुरक्षा तथा डिजिटल ठगीविरुद्ध जनचेतना’ विषयमा प्रस्तुति दिएका थिए। उनले सामाजिक सञ्जाल प्रयोग गर्दा हुने जोखिम, फिसिङ, ओटिपी ठगी, लटरी स्क्याम, रोमान्स स्क्यामलगायत डिजिटल ठगीका नयाँ प्रवृत्तिबारे जानकारी गराएका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूसँग अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो भने उत्कृष्ट प्रश्न सोध्ने र सक्रिय सहभागिता जनाउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। “सोचेर क्लिक गरौं, ठगीबाट बचौं” भन्ने नारासहित सञ्चालन गरिएको उक्त सत्र प्रभावकारी बनेको आयोजकले जनाएको छ।

दोस्रो सत्रअन्तर्गत ६२ जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको थियो। संस्थागत तथा व्यक्तिगत गरी २६ जना दाताको योगदानबाट सञ्चालित उक्त छात्रवृत्ति कोष शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा कमजोर, असहाय, अशक्त तर जेहेन्दा विद्यार्थीलाई प्लस टु, स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले विभिन्न व्यक्ति तथा संघसंस्थाको योगदानबाट छात्रवृत्ति कोष निर्माण गरी सञ्चालन भइरहेको जानकारी दिए। प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले कार्यक्रमको सुरुवाती चरण स्मरण गर्दै दाताहरूको विश्वास र समर्पणप्रति आभार व्यक्त गरे तथा प्राप्त छात्रवृत्तिको पूर्ण सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गरे।

विशेष अतिथि चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद भट्टले शिक्षामा लगानी गर्नु नै राष्ट्रको भविष्यमा लगानी गर्नु भएको उल्लेख गर्दै सहकारीले वित्तीय सेवासँगै शिक्षा र डिजिटल साक्षरतामा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले पनि उच्च शिक्षा छात्रवृत्ति वितरण र साइबर सुरक्षा सचेतनाको महत्वबारे धारणा राखेका थिए।

संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई सामाजिक विकास र समुदायको उत्थानमा समर्पित रहेको बताए। उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। शिक्षा उपसमिति सदस्य ललिता कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालक सदस्य इन्द्रबहादुर महर्जनले धन्यवाद ज्ञापन गरेका थिए।

आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीलाई गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग गर्नुका साथै डिजिटल युगमा सुरक्षित रहन सिकाउने, दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउने तथा शिक्षा, डिजिटल सुरक्षा र सामाजिक उत्तरदायित्वलाई एकीकृत रूपमा अगाडि बढाएर समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वास लिइएको छ। कार्यक्रममा चन्द्रागिरि नगरपालिका, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, अभिभावक, विद्यार्थी, सहकारी अभियन्ता तथा समाजका प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो।

Advertisment

थप समाचार