Below Menu
Below Menu

मन्दिर निर्माणमै २२ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्ष र इन्जिनियरसहित ९ जनाविरुद्ध मुद्दा

मन्दिर निर्माणमै २२ लाख भ्रष्टाचार, गाउँपालिका उपाध्यक्ष र इन्जिनियरसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माण योजनामा २२ लाख रुपैयाँभन्दा बढी रकम अनियमितताको भएको भन्दै नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नयाँ पर्यटन गन्तव्यको पहिचान तथा विकास गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उक्त मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

उक्त रकम दुर्गाथली गाउँपालिकामार्फत खर्च गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने तथा बेरुजु फर्छ्यौट गर्ने जिम्मेवारी तोकिएको थियो भने उपभोक्ता समिति गठन, प्राविधिक मूल्याङ्कन र अनुगमनको जिम्मेवारी छविसपाथिभेरा गाउँपालिकाले निर्वाह गर्ने व्यवस्था गरिएको थियो।

अनुसन्धानका क्रममा मन्दिर निर्माणका लागि कुल ५६ लाख ७ हजार ८९७ रुपैयाँ ८० पैसाको लागत अनुमान तयार गरिएको थियो। यसमध्ये ४५ लाख रुपैयाँ नेपाल सरकारको बजेट, ११ लाख ७ हजार ८९७ रुपैयाँ ८० पैसा उपभोक्ता सहभागिता तथा २ लाख २५ हजार रुपैयाँ कन्टिन्जेन्सी शीर्षकमा समावेश गरिएको थियो। २०७५ चैत २६ गते बाँठपाली देवता मन्दिर निर्माण समितिसँग सम्झौता गरी २०७६ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर अनुसन्धानबाट निर्माण कार्यको वास्तविक प्रगति भन्दा धेरै काम भएको देखाइएको, अस्वाभाविक रूपमा उच्च दररेट कायम गरिएको, सम्झौताअनुसार उपभोक्ता सहभागिताको रकम कम कट्टा गरिएको तथा झुट्टा बिल भरपाईका आधारमा जम्मा २२ लाख १ हजार ६६५ रुपैयाँ बढी भुक्तानी गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन इन्जिनियर हिक्मत रावल तथा सब–इन्जिनियर बमबहादुर बोहराले आपसी मिलेमतोमा गैरकानुनी लाभ लिने उद्देश्यले उक्त अनियमितता गरेको आरोप लगाइएको छ। 

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (क), (ग) र (ङ) अनुसार भ्रष्टाचारको कसुर तथा झुट्टा प्रतिवेदन पेश गरेको आरोपमा दफा १९(२) अन्तर्गत समेत मुद्दा दायर गरिएको छ। उनीहरूबाट २२ लाख १ हजार ६६५ रुपैयाँ बिगो असुल गरी सोही बराबर जरिवाना तथा कैद सजायको माग गरिएको छ।

यस्तै, तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला तथा वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष मोहनलाल विकमाथि निर्माण कार्यको वास्तविक अवस्था लुकाई प्रतिवेदन दिएको आरोपमा भ्रष्टाचार निवारण ऐनको दफा १९(२) अन्तर्गत कैद तथा जरिवाना सजायको माग गरिएको छ।

त्यसैगरी बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा तथा कोषाध्यक्ष मधुलीदेवी बुढामाथि गैरकानुनी लाभ लिन सहयोग गरेको आरोप लगाइएको छ। 

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदार सरह सजाय हुनुपर्ने माग गर्दै २२ लाख १ हजार ६६५ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।


 

Advertisment

थप समाचार