काठमाडौं : सुनसरीको इटहरीमा निजी क्षेत्रको करिब ९० करोड रुपैयाँ लगानीमा आधुनिक खाद्य तेल प्रशोधन उद्योग स्थापना हुने भएको छ। रोयल एडिबल आयल्स प्रालिले दैनिक १५० मेट्रिक टन उत्पादन क्षमता भएको उद्योग निर्माण गरिरहेको हो।
उद्योग सञ्चालनमा आएपछि स्वदेशमै सोयाबिन, सूर्यमुखी र तोरीको कच्चा तेल प्रशोधन गरी बजारमा खाद्य तेल उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
परियोजनाको कुल लागत करिब ९० करोड रुपैयाँ अनुमान गरिएको छ। यसमध्ये ७५ प्रतिशत अर्थात् ६७ करोड ५० लाख रुपैयाँ बैंक ऋणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ संस्थापकहरूको इक्विटी लगानी रहनेछ।
कम्पनीका प्रवर्द्धकहरूले सन् २०२५ डिसेम्बर १० सम्म करिब १५ करोड रुपैयाँ बराबरको इक्विटी लगानी गरिसकेको र आवश्यक बैंक ऋणको व्यवस्था पनि सुनिश्चित भइसकेको जानकारी दिएका छन्।
उद्योगका लागि आवश्यक कच्चा सोयाबिन, सूर्यमुखी तथा तोरीको खाद्य तेल विदेशबाट आयात गरिनेछ। त्यसलाई इटहरीस्थित उद्योगमा प्रशोधन गरी नेपाली बजारमा बिक्री गरिने योजना छ। कम्पनीले विभिन्न प्रकारका परिष्कृत (रिफाइन्ड) सोयाबिन तेल, सूर्यमुखी तेल तथा तोरीको तेल उत्पादन गर्ने तयारी गरिरहेको छ।
विदेशबाट कच्चा पदार्थ आयातमा निर्भर रहने भएकाले अन्तर्राष्ट्रिय बजारमा कृषि वस्तुको मूल्य, उत्पादन, मौसम, मनसुन, माग–आपूर्ति तथा भण्डारण अवस्थाले कम्पनीको उत्पादन लागतमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। कच्चा खाद्य तेलको मूल्यमा हुने उतारचढाव कम्पनीका लागि प्रमुख व्यावसायिक जोखिमका रूपमा औंल्याइएको छ।
कम्पनीको नेतृत्व जाजु ग्रुपका संस्थापक महेश कुमार जाजुले गरिरहेका छन्। उपभोक्ता वस्तु उत्पादन तथा वितरण क्षेत्रमा लामो अनुभव रहेको जाजु ग्रुपले यसअघि रमपम, टुपीएम र गुडलाइफलगायतका ब्रान्ड सञ्चालन गर्दै आएको छ।
उद्योग भारत–नेपाल सीमासँग नजिक रहेको इटहरीमा निर्माण भइरहेकाले भारतका बन्दरगाहमार्फत आयात गरिने कच्चा खाद्य तेलको ढुवानी लागत कम हुने कम्पनीको विश्वास छ। यही भौगोलिक अवस्थाले भविष्यमा भारतलगायतका बजारमा प्रशोधित तेल निर्यात गर्ने सम्भावना समेत बलियो बनाउने र आपूर्ति शृङ्खलालाई प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने कम्पनीको भनाइ छ।
नेपालमा खाद्य तेलको कच्चा पदार्थ आयात तीव्र रूपमा बढिरहेको सरकारी तथ्यांकले देखाएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा करिब १३ अर्ब ४४ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा यो परिमाण अझै बढेको छ भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामै खाद्य तेल तथा कच्चा तेलको आयात ९१ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको तथ्यांकले देखाएको छ।
भारतको भन्सार नीतिमा भएको परिवर्तन तथा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत पुनःनिर्यातको अवसरका कारण नेपाली खाद्य तेल उद्योगहरूले पछिल्ला वर्षहरूमा उल्लेखनीय लाभ लिन सफल भएको छ।
यसैबीच, निर्माणाधीन खाद्य तेल प्रशोधन उद्योगका लागि लिएको ६७ करोड ५० लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक ऋण सुविधामा रोयल एडिबल आयल्स प्रालिले ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ।