काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण तथा ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न साना किसान विकास लघुवित्तले अग्रणी भूमिका खेलेको उल्लेख गरे। साना किसानको काम र त्यसको प्रभावलाई आधार मानेर संस्थालाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो।
उनले वास्तविक किसानको बीचमा पुगेर सफल र सकारात्मक रूपान्तरणका लागि काम गर्ने संस्था साना किसान भएको उल्लेख गर्दै यसलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न सके यसको प्रभाव अझै विस्तार गर्न सकिने बताए।
उपाध्यक्ष भट्टले देशको समग्र आर्थिक अवस्था सुधारमा साना किसानहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस क्षेत्रका लागि सरकारले विशेष प्रकारका कार्यक्रम अघि बढाउने बताए। साना किसानहरूको उत्थानबाट मात्रै गरिबी निवारणसँगै आर्थिक–सामाजिक रूपान्तरण सम्भव हुने विषयमा वर्तमान सरकार स्पष्ट रहेको भन्दै उनले साना किसानहरूलाई ढुक्क भएर काम गर्न आग्रह गरे।
उनले सरकारले सरकारी, निजी र सहकारी क्षेत्रको सवलीकरणमार्फत संस्थागत दिगोपनालाई प्राथमिकता दिने बताए। साथै, समावेशी सहभागितामा आधारित सरकारी कार्यक्रमलाई साना किसानको समूह निर्माण र सहभागिताले प्रमाणित गरिसकेको उल्लेख गर्दै साना किसान कार्यक्रम र यसको प्रभावलाई निरन्तर विस्तार गर्दै लैजानुपर्ने धारणा राखे।