एशियन ब्याट्रीजले ५३ करोडमा नयाँ प्लान्ट बनाउँदै, ११ महिनामा साढे ६५ करोडको व्यापार

एशियन ब्याट्रीजले ५३ करोडमा नयाँ प्लान्ट बनाउँदै, ११ महिनामा साढे ६५ करोडको व्यापार

काठमाडौं : नेपालमा अटोमोटिभ, विद्युतीय सवारी (ईभी) तथा ट्युबुलर ब्याट्री उत्पादन गर्दै आएको एशियन ब्याट्रीज लिमिटेडको व्यापार बढ्दै गएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा ६५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । उत्पादन क्षमता बढेपछि बजारमा मागअनुसार बिक्री बढ्दै गएको कम्पनीले जनाएको छ । 

सन् २०२५ मा कम्पनीको व्यापार झण्डै २० प्रतिशतले बढेर ६२ करोड १० लाख रुपैयाँ पुगेको थियो ।यसअघि सन् २०२४ मा कम्पनीले ५१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । उत्पादन लागत घटेका कारण सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन बढेर १२.४२ प्रतिशत पुगेको थियो । चालु आवको यस अवधिमा भने ११.४२ प्रतिशत कायम रहेको छ । 

यसका साथै कम्पनीको नगद आम्दानीमा पनि सन् २०२४ को २ करोड ३० लाख रुपैयाँबाट बढेर सन् २०२५ मा ३ करोड ५० लाख रुपैयाँ पुगेको छ भने चालस आवको ११ महिनामा यस्तो आम्दानी ३ करोड ९० लाख रुपैयाँ पुगेको छ । 

सन् २०२५ मा कम्पनीमा ३० करोड रुपैयाँ नयाँ इक्विटी लगानी भित्रिएपछि ऋण–इक्विटी अनुपात ०.८२ गुणाबाट घटेर ०.३३ गुणा मा झरेको थियो भने समग्र गियरिङ अनुपात पनि १.६३ गुणाबाट घटेर ०.६४ गुणा पुगेको थियो । चालु आवको यस अवधिमा भने गियरिङ अनुपात ०.७२ गुणा पुगेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा थप १२ करोड ८० लाख रुपैयाँ बराबरको इक्विटी तथा अग्रिम लगानी भित्रिएको र प्रवद्र्धकहरूले विस्तार योजनालाई सहयोग गर्न निरन्तर पूँजी थपिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यससँगै कम्पनीको ऋण तिर्ने क्षमता पनि बलियो बन्दै गएको छ । सन् २०२५ मा २.४६ गुणा रहेको ब्याज भुक्तानी गर्ने चालु आवको यस अवधिमा २.७२ गुणा पुगेको छ भने  कुल ऋण र नगद आर्जनको अनुपात १०.५८ गुणा रहेको छ ।

हाल कम्पनीले ५३ करोड रुपैयाँ लागतमा पूर्ण स्वचालित भर्टिकल्ली रेगुलेडेड लेड एसिड ब्याट्री उत्पादन प्लान्ट निर्माण गरिरहेको छ । यस परियोजनामा करिब ६६ प्रतिशत ऋण र ३४ प्रतिशत इक्विटी लगानी रहनेछ । परियोजनाको वित्तीय प्रगति हाल करिब ३० प्रतिशत पुगेको छ भने लान्ट सन् २०२७ को जनवरी मध्यदेखि सञ्चालनमा आउने लक्ष्य राखिएको छ ।  

कम्पनीको उत्पादन केन्द्र मोरङको विराटनगरमा भारतीय सीमासँग नजिक भएकाले कच्चा पदार्थ आयात गर्दा ढुवानी खर्च कम लाग्ने र आपूर्ति व्यवस्थापन सहज हुने फाइदा रहेको प्रतिवेदनले उल्लेख गरेको छ । कम्पनीले आवश्यक कच्चा पदार्थमध्ये करिब ७० प्रतिशत आन्तरिक बजारबाट आपूर्ति गर्दै आएको छ ।

कम्पनीले हाल देशभर ४०० भन्दा बढी डिलर र १० वटा शाखा मार्फत आफ्ना ब्याट्री बिक्री गर्दै आएको छ ।  कम्पनीले विद्युतीय सवारी, अटोमोटिभ तथा ट्युबुलर ब्याट्री उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ५४ मेट्रिक टन  रहेको छ । 

कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) पनि निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । 

कम्पनीका अध्यक्ष सरेश लोहनी रहेका छन् । ब्याट्री उद्योगमा उनको २५ वर्षको अनुभव रहेको छ । 
 
    

थप समाचार