काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६२१. ५९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २४७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा चार अर्ब ८२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ४० करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कुमारी बैंक डिबेञ्चरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६२ करोड ३९ रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एनएमबी बैंक डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ५.५२ प्रतिशतले बढेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १३.४१ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा वित्तीय सबलताको आधारमा निर्धारण गर्ने भएको छ ।
मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको सबलताका आधारमा निर्धारण गरिने जानकारी दिएका हुन्।
मौद्रिक नीतिको पर्खाईमा बसेका लगानीकर्ता थप अन्योलमा देखिएका छन्। अस्पष्ट नीतिका कारण नेप्से परिसूचकमा उच्च गिरावट आएको हो।