ह्याम्स हस्पिटलले गर्यो नौ महिनामा साढे एक अर्बको व्यापार, २४ करोडको आईपीओ ल्याउँदै

ह्याम्स हस्पिटलले गर्यो नौ महिनामा साढे एक अर्बको व्यापार, २४ करोडको आईपीओ ल्याउँदै

काठमाडौं : पछिल्ला वर्षहरुमा ह्याम्स हस्पिटल सञ्चालन गर्दै आएको हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स) को व्यापारमा उल्लेखनीय सुधार देखिएको छ ।

Sponsored Advertisement

चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले एक अर्ब ४२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । उक्त रकम गत आवको सोही अवधिको तुलनामा करिब ५ प्रतिशतले बढी हो । 

सन् २०२५ मा कम्पनीले एक अर्ब ८५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२४ मा कम्पनीले एक अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यसअघि सन् २०२३ मा कम्पनीले एक अर्ब ३९ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२२ मा एक अर्ब ५५५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

अस्पतालभित्रै सञ्चालन हुने फार्मेसी, प्याथोलोजी र रेडियोलोजी सेवाले पनि हस्पिटलको आम्दानी वृद्धिमा सहयोग पुगेको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीको सञ्चालन नाफा पनि पछिल्ला केही वर्षदेखि २७-२८ प्रतिशतको हाराहारीमा रहेको छ । 

बिरामीको चाप बढेसँगै अस्पतालको बेड अकुपेन्सी दरमा पनि उल्लेखनीय सुधार देखिएको छ । सन् २०२५ मा ५२ प्रतिशत रहेको हस्पिटलको अकुपेन्सी दर चालु आवको नौ महिनामा बढेर ६४ प्रतिशत पुगेको छ । 

चालु आवको नौ महिनामा ह्याम्स हस्पिटलसँग करिब २० करोड ४० लाख रुपैयाँ बराबरको नगद तथा तरल सम्पत्ति रहेको छ । हालै प्रवद्र्धकबाट करिब ९ करोड ९० लाख रुपैयाँ नयाँ इक्विटी लगानी र करिब २५ करोड १० लाख रुपैयाँ प्रिमियम थपिएको उल्लेख छ । 

कम्पनीले सन् २०२५ मा अघिल्लो वर्षको नाफाको करिब ६९ प्रतिशत बराबर नगद लाभांश वितरण गरिएको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पनि अघिल्लो वर्षको नाफाको करिब ६५ प्रतिशत बराबर लाभांश वितरण गरेको जनाएको छ । 

ह्याम्सको सहायक कम्पनी नागरिक सामुदायिक टिचिङ हस्पिटलले एक अर्ब ४० करोड रुपैयाँ लगानीमा नयाँ भवन निर्माण गरिरहेको छ । उक्त परियोजनामा ७० प्रतिशत लगानी ऋणबाट जुटाइने जनाइएको छ । 

हालसम्म ह्याम्सले आफ्ना पूँजीगत खर्च तथा लगानीहरू मुख्यतः आन्तरिक आम्दानी र हालै प्राप्त इक्विटी लगानीबाट व्यवस्थापन गर्दै आएको भए पनि सहायक कम्पनीमा भइरहेको ठूलो ऋणआधारित लगानीले कम्पनीमा वित्तीय दबाब पर्ने उल्लेख गरिएको छ । 

सन् १९९८ देखि सञ्चालनमा रहेको ह्याम्सले धुम्बाराहीमा १०० शय्याको अस्पताल सञ्चालन गर्दै आएको छ । अस्पतालले विभिन्न विशेषज्ञ सेवासहित आधुनिक स्वास्थ्य सेवा प्रदा गर्दै आएको छ । 

कम्पनीका प्रमुख प्रवद्र्धक रामशरण भण्डारी तथा उनको परिवारका सदस्यहरु रहेका छन् भने भण्डारी कम्पनीका अध्यक्ष समेत रहेका छन् । कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना अघि सारेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

कम्पनीले बैैंकिङ कर्जा सुविधाका लागि कुल ६६ करोड ४० लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ६४ करोड ४० लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि २ करोड रुपैयाँको कर्जा रेटिङ गराएको छ ।
 

थप समाचार