कर्जा असुली न्यायाधिकरणबाट ११७ मुद्दा टुंगिए, करोडौं रुपैयाँ असुली

कर्जा असुली न्यायाधिकरणबाट ११७ मुद्दा टुंगिए, करोडौं रुपैयाँ असुली

काठमाडौं : स्थापना भएको एक वर्ष पूरा गरेको कर्जा असुली न्यायाधिकरणले पहिलो वर्षमै ११७ वटा मुद्दा फैसला गरेको छ। यस अवधिमा २४ वटा मुद्दामा मिलापत्र भएको तथा २६ वटा मुद्दा कार्यान्वयन भई उल्लेखनीय रकम असुली भएको न्यायाधिकरणले जनाएको छ।

Sponsored Advertisement

गत वर्ष असार २५ गते स्थापना भएको न्यायाधिकरणका अनुसार एक वर्षको अवधिमा कुल ५८० वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये फैसला भएका ११७ मुद्दाको ठहर रकम २३ करोड ५० लाख रुपैयाँभन्दा बढी रहेको छ।

यस्तै, २४ वटा मुद्दामा भएको मिलापत्रबाट ७ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम असुलउपर भएको छ भने २६ वटा मुद्दा कार्यान्वयनबाट ८ करोड १० लाख रुपैयाँभन्दा बढी रकम असुल गरिएको न्यायाधिकरणले जनाएको छ।

सहकारी ऐन, २०७४ को दफा ८२ तथा सहकारी नियमावली, २०७५ को नियम ४२ बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ असार २५ गतेको निर्णयअनुसार स्थापना भएको न्यायाधिकरणले काठमाडौंको नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र परिसरबाट नियमित रूपमा सेवा सञ्चालन गर्दै आएको छ।

न्यायाधिकरणले सहकारी संस्थाहरूले असुल गर्न नसकेको कर्जा छिटो, छरितो र प्रभावकारी रूपमा असुलउपर गर्ने उद्देश्यका साथ कार्य गर्दै आएको जनाएको छ। स्थापना दिवसको अवसरमा जारी विज्ञप्तिमार्फत न्यायाधिकरणले एक वर्षको अवधिमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको हो।

थप समाचार