शारडा ग्रुपको न्यूट्रि फुड्सको व्यापार १३ प्रतिशतले बढ्यो, एक वर्षमा साढे एक अर्बको कारोबार 

शारडा ग्रुपको न्यूट्रि फुड्सको व्यापार १३ प्रतिशतले बढ्यो, एक वर्षमा साढे एक अर्बको कारोबार 

काठमाडौं : शारडा ग्रुपअन्तर्गत सञ्चालित न्यूट्रि फुड्सले एक वर्षमा साढे एक अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ५३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । 

उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा एक अर्ब ३६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । 

यसअघि कम्पनीले सन् २०२३ मा एक अर्ब ५४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा एक अर्ब २९ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । 

यसअवधिमा बजारमा उत्पादनको माग बढ्नुका साथै बिक्री मूल्यमा सुधार आएकाले आम्दानी बढेको कम्पनीले जनाएको छ । 

व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२४ मा ६.१६ प्रतिशत रहेको कम्पनीको यस्तो नाफा मार्जिन सन् २०२५ मा बढेर ९.१९ प्रतिशत पुगेको छ । कच्चा पदार्थको मूल्य अझै उच्च रहेपनि कम्पनीले सञ्चालन नाफामा सुधार गर्न सफल भएको छ ।

यस अवधिमा कम्पनीको पूँजी संरचनामा पनि सुधार देखिएको छ । कुल गियरिङ अनुपात आर्थिक वर्ष २०२४ मा १.७६ गुणा रहेकामा २०२५ मा घटेर १.७२ गुणामा झरेको छ । 

सञ्चालन नाफा बढ्नुका साथै ब्याज खर्च घटेकाले कम्पनीको ब्याज भुक्तानी क्षमता  १.५७ गुणाबाट बढेर ३.२८ गुणामा पुगेको छ भने ऋण सेवा क्षमता पनि १.३० गुणाबाट २.३४ गुणामा सुधारिएको छ ।

कम्पनीको उत्पादन क्षमता उपयोगमा पनि सुधार आएको छ । सन् २०२४ मा कम्पनीको समग्र उत्पादन क्षमता उपयोग २७ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर ३० प्रतिशत पुगेको थियो । 

चालु आवको नौ महिनामा यो अझै बढेर ३१ प्रतिशत पुगेको छ । बजारमा माग बढ्दै जाँदा उत्पादन वृद्धि भएकाले क्षमता उपयोगमा सुधार आएको कम्पनीको भनाई छ । 

खासगरी मैदा, आँटा, सुजी र चोकार उत्पादनको क्षमता उपयोग सन् २०२४मा करिब २४ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर ३९ प्रतिशत पुगेको कम्पनीले जनाएको छ । 

साथै दाल प्रशोधन क्षेत्रको उत्पादनको क्षमता उपयोग सन् २०२५ मा करिब ९ प्रतिशत रहेकोमा चालु आवको नौ महिनामा बढेर २२ प्रतिशत पुगेको कम्पनीले जनाएको छ । विशेषगरी बंगलादेश तर्फ दालको निर्यात बढेकोले क्षमता उपयोग बढेको कम्पनीको भनाई छ ।

सन् २००१ मा पशुपति फ्लोर मिल्स नाममा स्थापना भएको कम्पनी सन् २००४ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । त्यसपछि सन् २००६ मा यसको नाम परिवर्तन गरी न्यूट्री फुड्स प्रालि राखिएको हो । 

सुनसरीको दुहबीस्थित उत्पादन केन्द्रबाट कम्पनीले मैदा, आँटा, सुजी, दाल, मकैजन्य उत्पादन, शिशु आहार तथा पशु आहार उत्पादन गर्दै आएको छ । 
कम्पनीका उत्पादनहरू सुपरम्यान, फर्चुन, एन्कर तथा शिशु आहार न्यूट्रिल्याक ब्रान्डमार्फत देशभर बिक्री हुँदै आएका छन्। 

कम्पनीले दीर्घकालिन तथा अल्पकालिन बैंकिङ कर्जा सुविधाका लागि ८१ करोड ३५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ ।  


 
 

थप समाचार