बागमतीका समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

बागमतीका समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौं : बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ।

मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता अभियानको औपचारिक शुभारम्भ गरेका हुन्। कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीको समेत उपस्थिती थियो।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था तथा सिभिल बचत तथा ऋण सहकारी संस्थामा बचत गरेका एक हजार ७६६ जना साना बचतकर्तालाई रकम फिर्ता गर्न थालिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले लामो समयदेखि रोकिएको बचतकर्ताको रकम सुरक्षित र व्यवस्थित ढङ्गले फिर्ता गर्ने कामलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको बताए। उनले बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी सञ्चालक तथा जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे।

यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ २२ गते ती पाँच सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै संस्थाबाट लिएको ऋण यथाशीघ्र चुक्ता गर्न आग्रह गरेको थियो।

समितिका अनुसार समस्याग्रस्त घोषित यी पाँच सहकारी संस्थामा आबद्ध १४ हजार ६४ जना बचतकर्ताले कुल २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको दाबी प्रस्तुत गरेका छन्।

बचत फिर्ता प्रक्रिया सुरु भएसँगै लामो समयदेखि आफ्नो रकमको प्रतीक्षामा रहेका बचतकर्तामा केही आशा जागेको छ।

थप समाचार