काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बोर्डले नेपालको पुँजीबजार विकासको महत्वपूर्ण मोडमा उभिएको भन्दै संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।
बोर्डका अनुसार पुँजीबजारको आकार र गहिराइ विस्तार, वित्तीय साधनहरूको विविधीकरण, संस्थागत लगानीकर्ताको भूमिका बढाउने, कर्पोरेट ऋणपत्र बजारको विकास गर्ने तथा पुँजीबजार र उत्पादनमूलक क्षेत्रबीचको अन्तरसम्बन्ध सुदृढ गर्ने विषयलाई नीति तथा कार्यक्रममा समेटिएको छ।
बोर्डले लगानीकर्ताको हितलाई केन्द्रमा राखी नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ। धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझका क्रममा अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाइने बोर्डले जनाएको छ।
लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिँदै बजारलाई प्रभावित पार्ने उद्देश्यले गलत वा भ्रामक सूचना प्रवाह गर्ने, अनधिकृत लगानी परामर्श दिने, भ्रामक प्रचार गर्ने, सामाजिक सञ्जालमार्फत बजार प्रभावित पार्ने तथा वित्तीय ठगी गर्ने गतिविधिविरुद्ध प्रभावकारी नियामकीय निगरानी गरिने बोर्डले जनााएको छ ।
यस्ता छन् बोर्डका नीति कार्यक्रम तथा बजार विकासका प्राथमिकता
- धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाईनेछ ।
- लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिई Finfluencers हरूबाट धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगी विरुद्धका कार्यहरू उपर प्रभावकारी नियामकीय निगरानी गरिनेछ ।
- सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउनका लागि सरोकारवाला पक्षहरूबाट प्राप्त सुझाव समेतलाई समेटी नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवम् व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यवस्था मिलाईनेछ ।
- बोर्डबाट मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी भैसकेकोमा उक्त कारोबारको कार्यान्वयनको अवस्था तथा सो सञ्चालनमा केही सीमितता देखिएमा बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लिरिङ्ग लि. तथा धितोपत्र दलाल व्यवसायी बीच समन्वय कायम गरी यथाशीघ्र सञ्चालन व्यवस्था मिलाईनेछ।
- सूचीकरण पश्चातको कारोवारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिनेछ।
- लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजार शूल्कमा पुनरावलोकन गरिनेछ ।
- नेप्से सूचकाङ्कलाई All Equity Index को रूपमा कायम राखी कारोवारयोग्य शेयरहरू (Free Float Shares) को आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई Benchmark सूचकाङ्क गणना गर्ने व्यवस्था मिलाईनेछ ।
- सामाजिक सञ्चालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) अघि संगठित संस्थाहरूबाट हुने पूँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमन व्यवस्था मिलाईनेछ ।
यसका साथै बोर्डले उपर्युक्त सुधारका अतिरिक्त नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरी राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुयाउने दिशातर्फ अग्रसर हुने गरी बोर्डले तयार गरेको आगामी दशकको नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३ र आव २०८३/८४ को पूँजी बजार नीति एवं सोको कार्यान्वयन कार्ययोजना बोर्डको बेबसाईटमार्फत सार्वजनिक गरिने जनाएको छ ।