चीनको आर्थिक वृद्धिदरमा तीव्र गिरावट, सरकारको लक्ष्यभन्दा तल

चीनको आर्थिक वृद्धिदरमा तीव्र गिरावट, सरकारको लक्ष्यभन्दा तल

बेइजिङ : चीनको आर्थिक वृद्धिदर अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिक अवधिमा तीव्र रूपमा घटेको छ। कमजोर घरेलु माग र इरान युद्धका कारण तेलको मूल्यमा परेको प्रभावले चीनको अर्थतन्त्रमा दबाब बढाए पनि देशको निर्यात भने बलियो देखिएको छ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार, विश्वको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) दोस्रो त्रैमासिकमा वार्षिक आधारमा ४.३ प्रतिशतले बढेको छ। यो वृद्धि पहिलो त्रैमासिकमा देखिएको ५ प्रतिशतको वृद्धिभन्दा कम हो।

चीनले मार्चमा यस वर्षको आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतको दायरामा राखेको थियो। सन् १९९१ यताकै सबैभन्दा कम लक्ष्यका रूपमा हेरिएको यो दायराले आर्थिक व्यवस्थापनमा सरकारलाई थप लचिलोपन दिने बताइएको छ । दोस्रो त्रैमासिकको ४.३ प्रतिशतको वृद्धि भने सरकारको न्यूनतम लक्ष्यभन्दा पनि तल पुगेको छ।

यो तथ्याङ्क फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएपछि सार्वजनिक गरिएको पहिलो पूर्ण त्रैमासिक जीडीपी तथ्याङ्क हो। सन् २०२२ को अन्त्यमा चीनले कडा कोभिड–१९ प्रतिबन्धहरू हटाएपछि देखिएको अवधिलाई छोड्ने हो भने, यो त्रैमासिक वृद्धिदर सबैभन्दा कमजोर रहेको बताइएको छ।

आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले बाह्य अस्थिरता र अनिश्चितताका कारकहरू बढेको जनाएको छ। ब्युरोले चीनको घरेलु अर्थतन्त्रमा उत्पादन पक्ष बलियो भए पनि माग कमजोर रहेको असन्तुलन देखिएको पनि उल्लेख गरेको छ।

चीनको अर्थतन्त्रमा देखिएको दबाबलाई बुधबार सार्वजनिक गरिएका अन्य आर्थिक तथ्याङ्कहरूले पनि देखाएका छन्। लामो समयदेखि जारी सम्पत्ति बजारको संकट र कमजोर उपभोक्ता खर्चले घरेलु अर्थतन्त्रमा चुनौती थपेको छ। जुन महिनामा नयाँ घरको मूल्य फेरि घटेको छ। यद्यपि, ०.१ प्रतिशतको गिरावट अघिल्लो महिनाको तुलनामा केही कम हो।

उपभोक्ता खर्चतर्फ भने केही सुधार देखिएको छ। जुन महिनामा खुद्रा बिक्री १ प्रतिशतले बढेको छ, जबकि मे महिनामा यसमा ०.६ प्रतिशतको गिरावट आएको थियो।

लगानी प्लेटफर्म आईजीका बजार विश्लेषक फाबियन यिपका अनुसार चीनका व्यवसायहरूले ऊर्जा र कच्चा पदार्थको बढ्दो लागत आफैंले वहन गरिरहेका छन् । किनभने कमजोर मागका कारण ती लागत उपभोक्तामाथि थप्न सक्ने अवस्था छैन। उनका अनुसार, इरान युद्ध लामो समयसम्म जारी रहेमा चीनको अर्थतन्त्र व्यवस्थापन गर्न अझ कठिन हुने देखिन्छ।

यद्यपि, चीनको निर्यात क्षेत्रमा भने बलियो प्रदर्शन देखिएको छ। मंगलबार सार्वजनिक गरिएको भन्सार तथ्याङ्कअनुसार, जुन महिनामा चीनको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा २७ प्रतिशतले बढेको थियो।

विशेषगरी, कृत्रिम बुद्धिमत्ता ९एआई० सञ्चालन गर्ने डेटा सेन्टरहरूका लागि आवश्यक सेमिकन्डक्टरको विश्वव्यापी माग बढ्दा चीनको प्रविधि निर्यातमा वृद्धि भएको छ। साथै, चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो अन्तर्राष्ट्रिय मागले पनि निर्यातलाई ठूलो सहयोग पुर्याएको छ।

जुन महिनामा चीनबाट निर्यात भएका कारको संख्या पहिलोपटक मासिक रूपमा १० लाखभन्दा माथि पुगेको छ। यसले चीनको निर्यात क्षेत्रलाई बलियो बनाउन विद्युतीय सवारीसाधन र प्रविधि उत्पादनको भूमिका बढ्दै गएको देखाएको छ।

 

थप समाचार