काठमाडौं : चालु आर्थिक वर्षको जेठसम्ममा नेपालको खुद सेवा आय साढे ७२ अर्ब रुपैयाँले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा खुद सेवा आय रु। ७२ अर्ब ५४ करोडले घाटामा रहेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खुद सेवा आय ८२ अर्ब ७८ करोड रुपैयाँले घाटामा रहेको थियो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खुद सेवा आय घाटा १० अर्ब २४ करोड रुपैयाँले घटेको छ ।
सेवा खाताअन्तर्गत यसअवधिमा भ्रमण आय भने ०.१ प्रतिशतले कमी आएको छ । यस अवधिमा भ्रमण आय ८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय रु। ८२ अर्ब ३३ करोड रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४.७ प्रतिशतले घटेर एक खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय दुई खर्ब ३ अर्ब १८ करोड रहेको थियो ।
कुल भ्रमण व्ययमध्ये शिक्षातर्फको व्यय एक खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको भ्रमण व्यय एक खर्ब २४ अर्ब ७५ करोड रहेको थियो ।
यस अवधिमा कुल भ्रमण व्यय घटे पनि शिक्षातर्फको व्यय भने अघिल्लो वर्षको तुलनामा बढेको तथ्यांकले देखाएको छ । यस अवधिमा भ्रमण आय र भ्रमण व्ययबीचको अन्तरका कारण सेवा खातामा घाटा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।