काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग तत्काल ठोस कदम चाल्न माग गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले न्यायका लागि विपन्न नागरिकहरू पटक–पटक सडकमा आउनुपर्ने र लामो दूरी पैदल हिँड्नुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।
मिटरब्याज पीडितसँग सरकारले पटक–पटक सहमति गरे पनि ती सहमति कार्यान्वयनमा आउन नसकेको उनको भनाइ थियो। कानुन निर्माण भए पनि पीडितहरूको अवस्था अझै उस्तै रहेको उनले बताइन्।
आचार्यले यही असार २५ गते धनुषाबाट करिब ५०० जना मिटरब्याज पीडित न्याय नपाएसम्म घर नफर्कने अडानसहित पैदल यात्रामा निस्किएको उल्लेख गरिन्।
‘यो सामान्य लेनदेनको विषय होइन, राज्यको न्याय प्रणालीमाथिको निर्मम प्रहार हो,’ उनले भनिन्।
सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि गरिरहेको पहलप्रति समर्थन जनाउँदै सांसद आचार्यले पीडितलाई उठिबास गराउने सबै मुद्दा तत्काल रोक्का गर्न माग गरिन्। त्यस्तै, हडपिएको जग्गा फिर्ता गराउन ठोस र स्थायी कानुनी संयन्त्र तत्काल निर्माण गर्नुपर्ने उनको माग थियो।
‘निमुखा नागरिकहरूको आँसु पुछ्ने काम राज्यले यथाशीघ्र गरोस्,’ उनले भनिन्।