काठमाडौं : नेपालमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुग्ने क्रम जारी रहेको छ।
हाल ३० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्टनम बन्दरगाहमा र २७ हजार मे.टन डीएपी मल भारतको कोलकत्ता बन्दरगाहमा आइ पुगेको छ । दुवै पोर्टमा हाल प्याकिङ्ग भइरहेको र विशाखापट्टनम पोर्टबाट मल रेकमा लोड भइ हिजो हिडेको र कलकत्ताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको छ।
साथै सरकार-सरकार (जिटुजी) सम्झौताअन्तर्गत खरिद गरिएको अर्को डीएपी मल साउन ३ गते (१९ जुलाई) कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका रहेको छ।
त्यस्तै, ३० हजार र ३० हजार गरी दुईवटा युरीया मल लोड भएका जहाजहरु साउन १ गते (१७ जुलाई) कोलकाता बन्दरगाहमा आइपुग्ने कार्यक्रम रहेको छ।
हाल मल वितरक दुवै कम्पनीसँग मौज्दातमा रहेका मलहरु मल वितरण व्यवस्थापन कार्यविधि बमोजिम विक्री वितरण भैरहेको र कोलकाता बन्दरगाहमा आइपुगेका र आउने क्रममा रहेका मलहरुलाई आवश्यक भन्सार तथा ढुवानी प्रक्रिया पूरा गरी चरणबद्ध रूपमा नेपाल भित्र्याइने मन्त्रालयले जनाएको छ।
कृषि उत्पादन बृद्धिमा किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन आपूर्ति व्यवस्थापन र समन्वयलाई तीव्र बनाइएको कृषि, वन तथा पर्यावरण मन्त्रालयको स्वकीय सचिवालयले जनाएको छ।