काठमाडौं : प्रभु हेलिकप्टर प्रालिले एक वर्षमा साढे २८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २८ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको हो ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.६४ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा २६ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२४ मा एउटा हेलिकोप्टर ग्राउन्डेड भएपछि कम्पनीको आम्दानी ३७.७१ प्रतिशतले घटेको थियो ।
उक्त हेलिकोप्टर सन् २०२४ को तेस्रो त्रैमासिकसम्म बिक्री गरिएपछि सन् २०२५ मा आम्दानी पुनः सुधारिएको प्रतिवेदनमा उल्लेख छ । यसअघि कम्पनीले सन् २०२३ मा ४१ करोड ७० लाख, सन् २०२२ मा २२ करोड ८० लाख र सन् २०२१ मा १२ करोड ५० लाख रुपैया आम्दानी गरेको थियो ।
कम्पनीको नाफामा पनि उल्लेखनीय सुधार देखिएको छ । सन् २०२१ मा उच्च मूल्यह्रास र वित्तीय लागतका कारण २१ करोड ७० लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको कम्पनीले सन् २०२३ र २०२४ मा क्रमशः २२ लाख ४० हजार रुपैयाँ र १६ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सन् २०२५ मा भने मूल्यह्रास तथा वित्तीय खर्च घटेसँगै कम्पनीको खुद नाफा १० करोड रुपैयाँ पुगेको छ।
नगद प्रवाह र ऋण तिर्ने क्षमतामा पनि सुधार आएको छ । सन् २०२१ मा ९ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको नगद सञ्चिति सन् २०२५ मा १० करोड ३० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले सन् २०२२ देखि लगातार सकारात्मक सञ्चालन नाफा मार्जिन कायम राख्दै आएको छ । सन् २०२४ मा ४५.३४ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा बढेर ४६.०४ प्रतिशत पुगेको छ ।
ब्याज भुक्तानी क्षमता सन् २०२१ को ऋणात्मक अवस्थाबाट सन् २०२५ मा ३.०१ गुणामा पुगेको छ भने ऋण सेवा कभरेज अनुपात सन् २०२२ को ०.८६ गुणाबाट बढेर १.०७ गुणा पुगेको छ। चालु अनुपात ०.१९ गुणाबाट १.१५ गुणामा सुधारिएको छ।
त्यस्तै, समग्र गियरिङ अनुपात २.१७ गुणाबाट घटेर १.२४ गुणामा झरेको छ भने कुल बाह्य दायित्व अनुपात पनि २.५२ गुणाबाट १.३१ गुणामा सुधार भएको प्रतिवेदनले देखाएको छ।
सन् २०२५ मा कम्पनीको कुल आम्दानीमध्ये करिब ५८ प्रतिशत खुम्बु क्षेत्रबाट आएको थियो । त्यस्तै मनास्लु क्षेत्रबाट १० प्रतिशत, सिमिकोटबाट ८ प्रतिशत, कञ्चनजंघाबाट ५ प्रतिशत, उद्धार सेवाको ५ प्रतिशत तथा अन्य क्षेत्रको आम्दानी करिब ९ प्रतिशत रहेको छ ।
कम्पनीको आम्दानी नेपालको पर्यटन तथा ट्रेकिङ सिजनमा निर्भर रहेको पनि प्रतिवेदनमा उल्लेख छ । सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्मको अवधिमा हुने ट्रेकिङ तथा पर्वतारोहण सिजनबाट सन् २०२४ मा कुल आम्दानीको करिब ६१ प्रतिशत र सन् २०२५ मा करिब ६९ प्रतिशत आम्दानी भएको छ ।
सन् २०२४ र २०२५ हवाई इन्धन खर्च कम्पनीको कुल आम्दानीको करिब ८ प्रतिशत रहेको थियो । साथै, कम्पनीसँग सन् २०२६ जुन अन्त्यसम्म २.३२ मिलियन अमेरिकी डलर बराबरको दीर्घकालीन ऋण रहेको र हेलिकोप्टर मर्मतसम्भार तथा पार्टपुर्जाको ठूलो हिस्सा पनि अमेरिकी डलरमै खरिद गर्नुपर्ने भएकाले नेपाली रुपैयाँ कमजोर हुँदा थप वित्तीय दबाब पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१५ मा मुक्तिनाथ एयरलाइन्स प्रालिको व्यवसाय अधिग्रहण गरी स्थापना भएको प्रभु हेलिकोप्टर लिमिटेड १४ जुलाई २०२२ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो ।
नेपालमा चार्टर हेलिकप्टर सवा प्रदायकमा रुपमा स्थापित कम्पनीले हेलि–साइटसिइङ, मेडिकल इभ्याकुएसन (मेडेभ्याक), पर्वतीय उद्धार, सम्पदा तथा धार्मिक स्थलको हवाई भ्रमण, चार्टर उडान तथा अन्य विशेष सेवा सञ्चालन गर्दै आएको छ ।
कम्पनीसँग हाल दुई वटा हेलिकप्टर रहेको छन् भने ५९ भन्दा बढी कर्मचारी कार्यरत छन् । सन् २०२५ सम्म कम्पनीको चुक्ता पुँजी ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीका प्रमुख शेयरधनी मा सनराइज होल्डिङ लिमिटेड र सुभाष अमात्य रहेका छन् । कम्पनीमा सनराइज होल्डिङ लिमिटेडको ३५.९३ प्रतिशत शेयर स्वामित्व रहेको छ । अमात्य कम्पनीका अध्यक्ष हुन् ।
प्रभु ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३६ करोड ९८ लाख रुपैयाँ र २३ लाख २० हजार अमेरिकी डलरको रेटिङ गराएको छ ।
प्रभु हेलिकप्टरले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले प्रातिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६१ करोड २५ लाख रुपैयाँको ६१ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।