७अपमा बाह्य पदार्थ भेटिएपछि वरुण बेभरेजको उत्पादन र बिक्री-वितरणमा तत्काल रोक 

७अपमा बाह्य पदार्थ भेटिएपछि वरुण बेभरेजको उत्पादन र बिक्री-वितरणमा तत्काल रोक 

काठमाडौं : ७अप ब्रान्डको हल्का पेय पदार्थमा बाह्य पदार्थ भेटिएको भन्ने उजुरी प्राप्त भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा संयुक्त टोलीले वरुण बेभरेज (नेपाल) प्रालि, काठमाडौं–३२, पेप्सीकोलामा आकस्मिक अनुगमन गरेको छ।

बिहिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरी प्रभाग काँडाघारीको संयुक्त टोलीले आकस्मिक रुपमा उद्योगको निरीक्षण गरेको हो।

विभागका अनुसार, उद्योगबाट उत्पादित ७अप ब्रान्डको ब्याच नं. बी००६, उत्पादन मिति १६–०४–२०२६ भएको मिठासयुक्त कार्बोनेटेड पानीमा बाह्य पदार्थ भेटिएको भन्ने उजुरीको अनुसन्धानका क्रममा उद्योगमा सोही ब्याचका दुईवटा नियन्त्रण नमुना बोतल सुरक्षित अवस्थामा फेला परेका थिए।

स्थलगत निरीक्षणका क्रममा उद्योगले २५० मिलिलिटर क्षमताका सिसाका बोतलमा ७अप उत्पादन गरिरहेको पाइएको जनाइएको छ। विभागले उद्योगमा सात चरणको बोतल धुने प्रणाली, बोतलमा पेय पदार्थ भर्नुअघि चार चरणको प्रकाश परीक्षण प्रणाली, भर्नेपछि धातु पत्ता लगाउने यन्त्र तथा अन्तिम प्रकाश निरीक्षण प्रणाली सञ्चालनमा रहेको जनाएको छ। निरीक्षणका क्रममा उद्योगको प्रशोधन तथा भण्डारण क्षेत्रमा बाह्य पदार्थ भएको ७अप को कुनै बोतल भने फेला नपरेको विभागले उल्लेख गरेको छ।

यद्यपि, थप परीक्षण तथा अनुसन्धानका लागि ब्याच नं. बी००६, उत्पादन मिति १६–०४–२०२६ भएको ७अप को नमुना संकलन गरिएको छ। साथै, अर्को आदेश नभएसम्मका लागि ७अप को उत्पादन तत्काल रोक्न, उक्त ब्याचका उत्पादनको बिक्री–वितरण बन्द गर्न तथा सो सम्बन्धमा विभागलाई लिखित जानकारी उपलब्ध गराउन उद्योगलाई निर्देशन दिइएको विभागले जनाएको छ।

 

 

थप समाचार