काठमाडौं : बाराको सिमरामा करिब दुई अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ निर्माण भइरहेको छ। अन्नपूर्ण भिस्टा रिट्रिट प्रालिले निर्माण गरिरहेको होटल सन् २०२८ को जुलाईबाट व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
कम्पनीले करिब ६० हजार वर्गमिटर क्षेत्रफलमा ११७ कोठा क्षमताको होटल निर्माण गरिरहेको हो। होटलमा खाद्य तथा पेय (एफ एन्ड बी) सेवा, स्विमिङ पुल, सम्मेलन तथा बैंक्वेट हल, स्पा, क्यासिनोलगायतका सुविधा रहने जनाइएको छ।
परियोजनाको कुल अनुमानित लागत एक अर्ब ९७ करोड २९ लाख रुपैयाँ रहेको छ। यसमध्ये एक अर्ब ५४ करोड बैंक ऋणबाट र बाँकी रकम संस्थापकको इक्विटीबाट व्यवस्थापन गर्ने योजना छ।
हालसम्म परियोजनाका लागि ९८ करोड बराबरको ऋण सुनिश्चित भइसकेको कम्पनीले जनाएको छ। अन्नपूर्ण भिस्टा रिट्रिट प्रालिको दीर्घकालीन बैंक ऋण सुविधा एक अर्ब ५४ करोड रहेको छ।
हाल परियोजना प्रारम्भिक निर्माण चरणमा रहेको छ। जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ भने माटो उत्खननको काम जारी छ। सन् २०२६ जुलाई १० सम्म परियोजनाको वित्तीय प्रगति करिब १३ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।
प्रस्तावित होटल सिमरा विमानस्थलबाट करिब ३ किलोमिटर तथा भारतसँगको प्रमुख व्यापारिक नाका रक्सौलबाट करिब २० किलोमिटर दूरीमा अवस्थित छ। साथै, पर्सा राष्ट्रिय निकुञ्ज नजिक रहेकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने सम्भावना रहेको कम्पनीको भनाइ छ।
अन्नपूर्ण भिस्टा रिट्रिट प्रालि सेप्टेम्बर ३०, २०२४ मा स्थापना भएको निजी लिमिटेड कम्पनी हो। कम्पनीका अध्यक्ष रामेश्वर थापा सिम्रिक एयर प्रालिका अध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्कका कार्यकारी अध्यक्ष हुन्। उनी सिम्रिक एयर, अन्नपूर्ण मिडिया नेटवर्क, अन्नपूर्ण रेडियो र एपी वान टेलिभिजनसँग पनि आबद्ध छन्।