क्यासिनो र पूर्वाधार थपिँदा बुटवलको ‘सफ्रोन सीके होटल’को लागत तीन अर्ब १४ करोड नाघ्यो

क्यासिनो र पूर्वाधार थपिँदा बुटवलको ‘सफ्रोन सीके होटल’को लागत तीन अर्ब १४ करोड नाघ्यो

काठमाडौं : निजी लगानीमा बुटवलमा निर्माण भइरहेको पाँचतारे सफ्रोन सीके होटलको निर्माण लागत बढेको छ । सुरुमा ३ अर्ब ९ करोड रुपैयाँमा सम्पन्न गर्ने अनुमान गरिएको होटल परियोजनाको लागत बढेर ३ अर्ब १४ करोड ५० लाख रुपैयाँ पुगेको हो ।

Sponsored Advertisement

होटल निर्माण लागत वृद्धि हुनुमा क्यासिनो सञ्चालनका लागि छुट्टै भवन निर्माण, थप जग्गा व्यवस्थापन, होटल परिसरको ल्यान्डस्केपिङ, सडक सुविधा, उचित ढल निकासलगायतका पूर्वाधार निर्माण मुख्य कारण रहेको कम्पनीले जनाएको छ ।

सुरुवाती योजनाअनुसार परियोजनाको लागत करिब ३ अर्ब ९ करोड रुपैयाँ अनुमान गरिएको थियो । उक्त लागतलाई ऋण र इक्विटीको मिश्रणबाट व्यवस्थापन गर्ने योजना बनाइएको थियो । तर परियोजनाको दायरा विस्तार भएपछि कुल लागत बढेर ३ अर्ब १४ करोड ५० लाख रुपैयाँ पुगेको हो ।

होटल सफ्रोन सीके प्रालिले निर्माण गरिरहेको यो पाँचतारे होटलमा १०९ वटा कोठा रहनेछन् । होटलमा रेस्टुरेन्ट, स्वीमिङ पुल, सम्मेलन तथा बैंक्वेट हल, स्पा, क्यासिनो लगायतका सुविधा समावेश गरिएको छ । परियोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात् २ अर्ब १९ करोड रुपैयाँ बैंक कर्जाबाट र बाँकी ३० प्रतिशत रकम प्रवर्द्धकको इक्विटी लगानीबाट व्यवस्थापन गरिएको छ ।

कम्पनीले होटल सञ्चालनका लागि विश्वप्रसिद्ध होटल ब्रान्ड हायातसँग व्यवस्थापन सम्झौता गरेको छ । हायातको अन्तर्राष्ट्रिय अनुभव, ब्रान्ड पहिचान, बजार प्रवर्द्धन, ग्राहक बुकिङ प्रणाली तथा सञ्चालन मापदण्डमार्फत होटलको व्यावसायिक सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

होटल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ किलोमिटर तथा नेपाल–भारत सीमा क्षेत्र सोनौलीबाट करिब २६ किलोमिटर दूरीमा अवस्थित छ । विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी करिब ३८ किलोमिटर दूरीमा रहेकाले धार्मिक तथा पर्यटकीय गतिविधिबाट होटलले व्यवसायिक अवसर पाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, प्रस्तावित बुटवल मण्डप अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र नजिक रहेकाले सम्मेलन, प्रदर्शनी तथा व्यावसायिक कार्यक्रममार्फत होटलको व्यवसाय विस्तार हुने लक्ष्य कम्पनीले राखेको छ ।

होटल सफ्रोन सीके प्रालि सन् २०१८ नोभेम्बर २१ मा स्थापना भएको कम्पनी हो । कम्पनीले बुटवलमा करिब ५ हजार ७४६ वर्गमिटर क्षेत्रफलमा पाँचतारे होटल निर्माण गरिरहेको छ । सफ्रोन सीके प्रालिका अध्यक्ष चुन्नाप्रसाद शर्मा हुन् । शर्मा यसअघि यशोदा फुड्स प्रालिका अध्यक्षसमेत रहिसकेका अनुभवी व्यवसायी हुन् ।  

कम्पनीको कर्जा दायित्व पनि बढेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन गरी कुल २ अर्ब २४ करोड रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको छ । यसअघि कम्पनीको कर्जा सीमा १ अर्ब ९० करोड रुपैयाँ रहेको थियो । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब १९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको हो ।