काठमाडौं : नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नुवाकोटको तादी गाउँपालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य सञ्चारलगायत सेवा विस्तार, नागरिकलाई सहज सेवा प्रवाह तथा विपद् व्यवस्थापनका विषयमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङसँग विस्तृत छलफल गरेका छन् ।
सञ्चार मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री डा. तिमिल्सिनाले गाउँपालिकाको विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा तथा अपेक्षाबारे जानकारी लिएका थिए। उनले स्थानीय तहबाट उठाइएका आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजनालाई अघि बढाइने बताए ।
छलफलका क्रममा गाउँपालिका अध्यक्ष तामाङले खरानीटारलाई तादी गाउँपालिकाको प्रशासनिक तथा सेवा केन्द्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
नागरिकलाई सेवा प्रवाहमा सहजीकरण गर्न खरानीटारमा मालपोत र नापी कार्यालय स्थापना आवश्यक रहेको उल्लेख गर्दै उनले सभासम्मेलन, सार्वजनिक कार्यक्रम तथा स्थानीय गतिविधि सञ्चालनका लागि सभागृह निर्माणको आवश्यकता औँल्याए ।
अध्यक्ष तामाङले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न तादी आधारभूत अस्पताललाई थप पूर्वाधार र जनशक्ति उपलब्ध गराईदिन आग्रह गरे । दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकाका नागरिकलाई सेवा दिँदै आएको उक्त अस्पताललाई क्षेत्रीयस्तरको अस्पतालका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
अस्पतालमा स्थायी मेडिकल सुपरीटेन्डेन्ट, पर्याप्त स्वास्थ्यकर्मी, शव पोस्टमार्टम सेवा तथा शववाहनको व्यवस्था आवश्यक रहेको उनले बताए । त्यस्तै, तादी, दुप्चेश्वर र पञ्चकन्यालगायत माथिल्लो भेगमा सडक दुर्घटनाका घटना बढिरहेको उल्लेख गर्दै अध्यक्ष तामाङले सडक सुरक्षाका लागि आवश्यक पूर्वाधार र व्यवस्थापनमा सबै तहका सरकारले समन्वयकारी रुपमा ध्यान दिन आवश्यक रहेको बताए ।
तादी गाउँपालिका–२ स्थित मुडुलेडाँडामा नेपाल टेलिकमको नेटवर्क विस्तार गर्नुपर्ने आवश्यकता पनि उनले राखे । सञ्चार पहुँच विस्तार भएमा दुर्गम बस्तीका नागरिकलाई सूचना, सम्पर्क र डिजिटल सेवामा सहजता हुने उनको भनाइ थियो ।
गाउँपालिकाले विपद्का घटना, बाढी र पहिरोजस्ता समस्याको समाधानका लागि जिम्मेवार रूपमा काम गरिरहेको अध्यक्ष तामाङको दावी थियो । वर्षायाममा जोखिमयुक्त बस्ती, सडक तथा सार्वजनिक पूर्वाधारमा पर्ने असर न्यूनीकरणका लागि स्थानीय सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले प्रदेश र संघीय सरकारबाट आवश्यक सहयोग अपेक्षा गरिएको बताए ।
तादी गाउँपालिकामा सडक कालोपत्रेलगायत पूर्वाधार विकासका कामलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि छलफलमा उठाइएको थियो । अमरज्योति उच्च माध्यमिक विद्यालयमा क्षेत्रीय रंगशाला निर्माणका लागि बजेट विनियोजन भए पनि गत आर्थिक वर्षमा उक्त बजेट फ्रिज भएको जानकारी दिँदै अध्यक्ष तामाङले रंगशालाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी बुझाइसकिएको बताए ।
रंगशाला निर्माण भएमा तादी मात्र नभई आसपासका पालिकाका लागि पनि खेलकुद तथा सार्वजनिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।
त्यस्तै, तादी गाउँपालिका–५ मा दोर्खुखोला मुहानबाट सठिया, बोरे र बञ्चरे क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न बजेट आवश्यक रहेको अध्यक्ष तामाङले बताए । खानेपानी, सिँचाइ तथा अन्य आधारभूत पूर्वाधारका योजनालाई समपूरक र विशेष अनुदान शीर्षकबाट प्राथमिकता दिनुपर्ने आवश्यकता पनि उनले राखे ।
छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले तादी गाउँपालिका–२ मुडुलेडाँडामा नेपाल टेलिकमको टावर तथा नेटवर्क विस्तारलाई जतिसक्दो चाँडो अघि बढाउन निर्देशन दिइसकेको बताए । नुवाकोटका अन्य विभिन्न स्थापनमा पनि टेलिफोन र इन्टरनेट पहुँच नरहेको बारे व्यापक गुनासो आएको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले नागरिकले दूरसञ्चार सेवामा असुविधा भोग्न नपरोस् भन्ने उद्देश्यले नेटवर्क विस्तारलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे ।
वर्षायाममा बाढी र पहिरो नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्नो क्षेत्राधिकारअनुसार समन्वय गरेर काम गर्नुपर्ने सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए । तत्काल राहत वितरण, जोखिमयुक्त बस्तीको पहिचान तथा स्थानान्तरणका लागि स्थानीय तहले यथार्थ मूल्यांकन गरी सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
“नागरिकले सुविधा पाउनुपर्छ, कुनै पनि नागरिकले असुविधा भोग्नु हुँदैन,” सञ्चारमन्त्री डा। तिमिल्सिनाले भने । उनले खानेपानी, सिँचाइ, सडक, स्वास्थ्य, सञ्चार तथा अन्य पूर्वाधार क्षेत्रमा के कस्ता आवश्यकता छन् भन्नेबारे स्थानीय तहबाट नियमित जानकारी दिन आग्रह गरे ।
तादी गाउँपालिकामा पूर्वाधार निर्माणका लागि आवश्यक योजना पहिचान गरी संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजना कार्यान्वयनका लागि पहल गरिने पनि उनले बताए ।
प्रतिनिधिसभा सदस्य डा. तिमिल्सिनाले यसअघि पनि नुवाकोटका विभिन्न स्थानीय तह र सेवा प्रदायक निकायसँग जिल्लाको विकास तथा सेवा प्रवाहका विषयमा छलफल गर्दै आएका छन् ।
गत हप्ता उनले ककनी गाउँपालिकाका समस्या तथा आवश्यकता बारे त्यहाँका जनप्रतिनिधिसँग छलफल गर्नुका साथै जिल्लामा विद्युत् आपूर्तिसम्बन्धी समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण सेवा केन्द्रका प्रमुखलगायतसँग पनि छलफल गरेका थिए ।