नेपालबाटै सुरु भयो मोरक्कोको भिसा प्रक्रिया, भारत जानुपर्ने बाध्यता अन्त्य

नेपालबाटै सुरु भयो मोरक्कोको भिसा प्रक्रिया, भारत जानुपर्ने बाध्यता अन्त्य

काठमाडौं : नेपाल र मोरक्को अधिराज्य (किङडम अफ मोरक्को) बीचको आवगमनलाई सहज बनाउने उद्देश्यले भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ।

अब मोरक्को जान चाहने नेपालीहरुले काठमाडौंस्थित अनररी कन्सुलरको कार्यालयबाट सिफरिस पत्रलिई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबल मार्फत भिसाका लागि आवेदन दिन र भिसा प्राप्त गर्न सक्नेछन् । यो व्यवस्था सोमबार ( साउन ११ गते) देखि लागू भएको छ ।

यो व्यवस्थाले मोरक्को जान चाहने नेपाली नागरिकहरू भिसाकै लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यताको अन्त्य भएको छ। 

यसअघि नेपाली नागरिकहरूले मोरक्कोको भिसाका लागि काठमाडौँस्थित अनररी कन्सुलरको कार्यालयबाट सिफारिस पत्रलिई नयाँ दिल्लीस्थित मोरक्कोको दूतावास पुग्नुपर्ने बाध्यता थियो । यो प्रक्रियाका कारण नेपाली यात्रीहरूको समय र ठुलो रकम भारत आउने–जाने कार्यमा खर्च हुँदै आएको थियो।

अब भने मोरक्कोको सम्पूर्ण भिसा प्रक्रिया नेपालबाटै सम्पन्न हुने गरी नयाँ व्यवस्था लागू गरिएको हो । 

भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबलसँगको सहकार्य गरी मोरोक्को भिसा प्रक्रियालाई सहज बनाइएको कन्सुलर कार्यालयले जनाएको छ । नयाँ व्यवस्था अनुसार अब आवेदकहरूले नेपालमै रहेर सहज रूपमा भीएफएसमार्फत भिसाको प्रक्रिया पूरा गर्न सक्नेछन् ।

मोरक्कोका लागि नेपालका तर्फबाट अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले नेपाली नागरिकहरूको सहजताका लागि भीएफएससँग सहकार्य गरेको बताईन

‘मोरक्को जान चाहने नेपालीहरूले यसअघि यहाँबाट सिफारिस लिएर भिसाका लागि नयाँ दिल्ली नै जानुपर्ने बाध्यता थियो, जसले गर्दा उहाँहरूको समय र अनावश्यक आर्थिक भार निकै बढिरहेको थियो’, अवैतनिक महावाणिज्यदूत चौधरीले भनिन्, ‘नेपाली नागरिकहरूको सहजताका लागि हामीले नेपालबाटै सेवा लिने व्यवस्था मिलाएका छौं । भिसा प्रक्रियाकै लागि नेपालीहरूको भारत आउने–जाने ठुलो खर्च जोगिनुका साथै समयको बचत पनि गराउनेछ ।’

उनका अनुसार यो नयाँ कदमले नेपाल र मोरक्कोबीचको जनस्तरको सम्बन्ध लाई थप प्रगाढ बनाउनुका साथै दुई देशबीचको पर्यटन तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन थप मद्दत पुग्ने छ ।

थप समाचार