काठमाडौं : होङ्सी शिवम् सिमेन्ट प्रालिले चालु आर्थिक वर्षको नौ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीको आम्दानी र नाफा दुवैमा उल्लेखनीय सुधार देखिएसँगै ऋणभार पनि घटेको छ ।
सन् २०२६ को नौ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन ३१ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको करिब २४ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी हो।
सिमेन्टको बिक्री मूल्यमा सुधार हुनु, विद्युत् तथा इन्धन खर्च घट्नु र उत्पादन लागत नियन्त्रणमा रहनुले नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ। यही अवधिमा कम्पनीको आम्दानी पनि वार्षिक आधारमा करिब १८ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले सन् २०२५ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा १० अर्ब ९६ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा १३ अर्ब ४ करोड ३० लाख रुपैयाँ तथा सन् २०२२ मा १६ अर्ब २० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीको वित्तीय अवस्थामा पनि उल्लेखनीय सुधार देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको कुल गियरिङ अनुपात घटेर ०.१५ गुणामा सीमित भएको छ । जुन एक वर्षअघि ०.२४ गुणा थियो। सञ्चालन नाफाको तुलनामा कुल ऋण अनुपात पनि घटेर करिब ०.६८ गुणामा झरेको छ।
आर्थिक वर्ष २०२४/२५ मा दीर्घकालीन ऋण पूर्ण रूपमा चुक्ता गरेपछि कम्पनीको ऋण सेवा क्षमता उल्लेखनीय रूपमा सुधार भई चालु आवको नौ महिनामा करिब १८.७० गुणा पुगेको रिपोर्टमा उल्लेख छ।
सन् २०१५ सेप्टेम्बरमा स्थापना भएको होङ्सी शिवम् नेपालकै सबैभन्दा ठूलो एकीकृत (इन्टिग्रेटेड) ग्रीनफिल्ड सिमेन्ट उद्योग हो। कम्पनीले ‘होङ्सी’ ब्रान्डअन्तर्गत ओपीसी र पीपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।
नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा रहेको उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता करिब २० लाख मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २३ लाख मेट्रिक टन रहेको छ।
कम्पनीमा चीनको अग्रणी सिमेन्ट उत्पादक होङ्सी समूहअन्तर्गतको हङकङ रेड लायन सिमेन्ट नम्बर–३ लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम् होल्डिङ्स लिमिटेडको ३० प्रतिशत स्वामित्व रहेको छ। शिवम् होल्डिङ्स, शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी हो।
चालु आवको नौ महिनामा क्लिङ्कर बिक्रीको शतप्रतिशत तथा सिमेन्ट बिक्रीको करिब ३५ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकबाट आएको छ। पछिल्ला वर्षहरूमा ग्राइन्डिङ आधारित सिमेन्ट उद्योगको संख्या बढ्दै जाँदा तेस्रो पक्षलाई हुने क्लिङ्कर बिक्रीको माग पनि घट्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यसैगरी, कम्पनीसँग पर्याप्त नगद मौज्दात भए पनि नियामकीय स्वीकृतिमा ढिलाइका कारण आर्थिक वर्ष २०२३/२४ र २०२४/२५ को करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको लाभांश अझै वितरण हुन सकेको छैन।
यद्यपि आर्थिक वर्ष २०२४/२५ मा लाभांश वितरण अनुपात करिब ४३ प्रतिशतमा रहेको छ । सन् २०२६ अप्रिल मध्यसम्म कम्पनीसँग करिब ३ अर्ब २० करोड रुपैयाँ नगद मौज्दात रहेको छ।
कम्पनीले अल्पकालिन बैंकिङ कर्जा सुविधाका लागि ५ अर्ब रुपैयाँ बराबरको रेटिङ गराएको छ ।