एजेन्सी : कृत्रिम बौद्धिकता (एआई)सँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र बिक्री दबाब देखिएपछि अमेरिका र एशियाका प्रमुख चिप उत्पादक कम्पनीहरूको शेयर मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
दक्षिण कोरियाको शेयर बजार सूचक कोस्पी मङ्गलवार बिहान ८ प्रतिशतले घटेपछि केही समयका लागि कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो। कारोबार पुनः सुरु भएपछि पनि गिरावट जारी रहँदा सूचक करिब १० प्रतिशतसम्म तल झरेको थियो।
यस गिरावटको मुख्य असर प्रविधि कम्पनीहरूमा परेको छ। सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स दुवैको शेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको छ।
सोमबार न्युयोर्कमा एआई चिप निर्माता एनभिडियाको शेयर ५ प्रतिशतले घटेको थियो। यससँगै एनभिडियाले विश्वकै सबैभन्दा मूल्यवान सूचीकृत कम्पनीको स्थान एप्पललाई गुमाएको छ।
प्रविधि कम्पनीहरूको बाहुल्य रहेको कोस्पीमा अत्यधिक बिक्रीका कारण सिर्जना हुने असामान्य उतारचढाव नियन्त्रण गर्न लागू गरिएको ‘सर्किट ब्रेकर’ नियमअन्तर्गत यस वर्ष अहिलेसम्म आठ पटक कारोबार रोकिएको छ।
कोस्पी सूचक वर्षको सुरुदेखि जुनको मध्यसम्म दोब्बरभन्दा बढीले बढेको थियो। तर त्यसयता यसले आफ्नो कुल मूल्यको करिब एक(तिहाइ गुमाइसकेको छ।
पछिल्ला महिनाहरूमा साना ९खुद्रा० लगानीकर्ताको उल्लेखनीय सहभागिताका कारण दक्षिण कोरियाको शेयर बजारमा उच्च उतारचढाव देखिएको छ।
सोमबार नास्डाकमा सूचीकृत एसके हाइनिक्सको शेयर ७।५५ प्रतिशतले घटेर गत जुलाई ९ मा कारोबार सुरु हुँदा निर्धारण गरिएको १४९ अमेरिकी डलरभन्दा निकै तल पुगेको छ। उता, प्रविधि कम्पनीहरूको बाहुल्य रहेको जापानको निक्केई २२५ सूचक पनि मङ्गलवार बिहान करिब ४।५५ प्रतिशतले घटेको थियो।
वाल स्ट्रिट जर्नलका अनुसार एनभिडियाले विशाल डेटा सेन्टर परियोजनाका लागि ओपनएआईलाई करिब २५० अर्ब अमेरिकी डलर उपलब्ध गराउने विषयमा छलफल गरिरहेको खबर सार्वजनिक भएपछि सोमबार कम्पनीको शेयरमा गिरावट आएको हो।
एनभिडियाको शेयर घटेसँगै एप्पल पुनः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। एप्पलको शेयर मूल्य यस वर्ष करिब २५ प्रतिशतले वृद्धि भएको छ।
विभिन्न सरकार र कम्पनीहरूले एआई क्षमताको विकासमा खर्बौं डलर लगानी गरिरहेका बेला यो प्रविधिले त्यति ठूलो लगानीको प्रतिफल दिन सक्ने गरी नाफा कमाउन सक्ला वा नसक्ला भन्ने प्रश्न विश्लेषकहरूले उठाउन थालेका छन्।