इराकमा अमेरिका र साउदीको संयुक्त हवाई आक्रमण, कच्चा तेलको मूल्य फेरी आकासियो

इराकमा अमेरिका र साउदीको संयुक्त हवाई आक्रमण, कच्चा तेलको मूल्य फेरी आकासियो

एजेन्सी : मध्यपूर्वमा केही दिनको शान्तिपछि अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। यसपटक साउदी अरेबियाले पनि अमेरिकासँग मिलेर इरान समर्थित इराकी मिलिसियामाथि संयुक्त हवाई आक्रमण गरेको छ। यस घटनाले क्षेत्रीय द्वन्द्व थप गम्भीर बन्न सक्ने संकेत दिएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिअनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को निर्देशनमा अमेरिकी फौज र साउदी अरेबियाको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरिरहेका ‘इरान समर्थित आतंकवादी’ समूहका रसद तथा हतियार भण्डारण केन्द्रहरूमा पूर्वी इराकमा संयुक्त हवाई आक्रमण गरिएको हो। 

सेन्टकमले कुन मिलिसियालाई निशाना बनाइएको हो भन्ने खुलाएको छैन। तर, पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले उक्त आक्रमणमा आफ्ना कम्तीमा १० सदस्य मारिएको जनाएको छ।

यो घटनाअघि इरानले अमेरिकी फौजमाथि अप्रत्याशित रूपमा धेरैवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको सेन्टकमले जनाएको छ। अमेरिकी पक्षका अनुसार मंगलबार साँझ भएको उक्त आक्रमणका सबै मिसाइल सफलतापूर्वक अवरोध गरिएको थियो। यद्यपि इरानले भने आफूले जोर्डनस्थित अमेरिकी सैन्य आधारलाई निशाना बनाएको दाबी गरेको छ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले होर्मुज जलडमरूमध्यमा तीनवटा तेल ट्यांकरमाथि पनि प्रहार गरेको तस्निम समाचार एजेन्सीले जनाएको छ।

सेन्टकमका अनुसार पछिल्लो ७२ घण्टामा आईआरजीसीको निर्देशनमा अमेरिकी सैन्य बलमाथि ३० भन्दा बढी ड्रोन आक्रमणको प्रयास भएपछि त्यसको जवाफस्वरूप अमेरिका र साउदी अरेबियाले संयुक्त कारबाही गरेका हुन्। 

सेन्टकमले ती ड्रोन आक्रमणलाई अनुचित भन्दै सबै प्रयास असफल भएको जनाएको छ। साथै, आईआरजीसी र त्यससँग आबद्ध समूहहरूलाई यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै अन्यथा थप अमेरिकी सैन्य कारबाही हुन सक्ने उल्लेख गरेको छ।

यता, पीएमएफले अमेरिका र साउदी अरेबियाको संयुक्त आक्रमणलाई खतरनाक उक्साहट तथा इराकको सार्वभौमिकताको उल्लङ्घनको संज्ञा दिएको छ। पीएमएफ इरान समर्थित विभिन्न सशस्त्र समूहहरूको साझा छाता संगठन हो, जसले वर्षौंदेखि मध्यपूर्वमा तेहरानको प्रभाव विस्तार गर्न भूमिका खेल्दै आएको छ। ती समूहहरूले इराकमा रहेका अमेरिकी सैनिकलाई देशबाट बाहिर निकाल्ने उद्देश्यले पटक-पटक अमेरिकी हितमाथि आक्रमण गर्दै आएका छन् भने अमेरिकाले पनि त्यसको जवाफमा उनीहरूमाथि सैन्य कारबाही गर्दै आएको छ।

यसअघि मंगलबार साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा रहेका पेट्रोलियम पूर्वाधारलाई लक्षित गरी प्रहार गरिएका ड्रोनहरू आफ्नो सेनाले खसालेको जनाएको थियो। साउदी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल तुर्की अल-मालिकीले ती ड्रोन इराकस्थित इरान समर्थित समूहहरूले प्रक्षेपण गरेको आरोप लगाएका छन्।

यो नयाँ तनाव सुरु हुनुभन्दा दुई दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग धेरै सकारात्मक वार्ता भइरहेको बताएका थिए। त्यसअघि लगातार तीन दिनसम्म दुवै पक्षबीच कुनै सैन्य आक्रमण भएको थिएन। 

उक्त विरामअघि अमेरिकाले दक्षिणी इरानका सुरुङ र पुलहरू ध्वस्त पारेको दाबी गर्दै लगातार १३ रात हवाई आक्रमण गरेको थियो, जसमा धेरै मानिसको ज्यान गएको बताइएको छ। होर्मुज जलमार्गको नियन्त्रण र पहुँचको विषय अहिले पनि दुवै पक्षबीच प्रमुख विवादको विषय बनेको छ । यद्यपि इरानले त्यस्तो वार्ता भइरहेको दाबी अस्वीकार गर्दै आएको छ।

तनाव बढेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य पनि उकालो लागेको छ। एशियाली बजारमा बुधबार बिहान ब्रेन्ट क्रुडको मूल्य ४.३ प्रतिशतले बढेर प्रतिबारेल ८७.७० डलर पुगेको छ भने अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य ४.२ प्रतिशतले वृद्धि भएर ८२.६२ डलर पुगेको छ। होर्मुज जलमार्गबाट हुने ऊर्जा आपूर्तिमा असर पर्न सक्ने चिन्ताले तेल बजार प्रभावित भएको विश्लेषण गरिएको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु वासिङ्टन भ्रमणमा रहेका बेला यो घटनाक्रम भएको हो। उनले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नुका साथै इरानविरुद्ध कडा धारणा राख्ने अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको अन्त्येष्टिमा पनि सहभागिता जनाएका थिए।

अमेरिकी रक्षा मन्त्रालयका पछिल्ला तथ्यांकअनुसार फेब्रुअरीमा राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेयता कम्तीमा ६२४ जना अमेरिकी सैनिक घाइते भएका छन्। तीमध्ये ४१७ जना संयुक्त अमेरिका–इजरायल सैन्य अभियान अपरेसन एपिक फ्युरी का क्रममा घाइते भएको पेन्टागनले जनाएको छ।

थप समाचार