युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सव, काठमाडौं युथ कन्क्लेभ २०२६ आगामी शनिबार हुँदै

युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सव, काठमाडौं युथ कन्क्लेभ २०२६ आगामी शनिबार हुँदै

काठमाडौं : युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ कन्क्लेभ (केवाइसी) २०२६ को छैटौं संस्करण आगामी शनिबार काठमाडौंमा आयोजना हुने भएको छ ।

Sponsored Advertisement

‘जेन-जेड हिरोजलाई सम्मान’ मूल नारासहित आगामी साउन १६ गते शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजना आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

आयोजकका अनुसार गत भदौमा भएको जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति सम्मान अर्पण गर्नुका साथै आन्दोलनमा घाइते भएकाहरूको साहस, योगदान र समर्पणको सम्मान गर्ने उद्देश्यले यस वर्षको कन्क्लेभ आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुनेछन् । साथै, विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्नुका साथै के-टु (केटु) हिमालको ऐतिहासिक शीतकालीन आरोहण गर्ने पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई केवाइसी युवा प्रेरणा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, कथावाचक साइग्रेस पोखरेल, नृत्यांगना तथा मोडल कविता नेपाली, अभिनेता पारस बम, गायक तथा संगीतकार एसटी म्यान, गायक बृजेश श्रेष्ठ, उद्यमी खेम संग्रौला, सामग्री निर्माता कुसुम नेपाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले तथा हास्यकलाकार मेक्सम गौडेल लगायतको सहभागिता रहनेछ । कार्यक्रमको सञ्चालन प्रिया सिग्देल र जय प्रधानले गर्नेछन् ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट को संयुक्त आयोजनामा हुने कन्क्लेभको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ। 

एनसेल फाउन्डेसन ले कार्यक्रमलाई सहयोग गरेको छ भने ग्लोबल आइएमई बैंक, रेड बुल नेपाल, खल्ती, नेसनल प्याथल्याब र एसीसीए क्रमशः बैंकिङ, ऊर्जा पेय, डिजिटल भुक्तानी, स्वास्थ्य परीक्षण तथा शैक्षिक साझेदारका रूपमा रहेका छन् ।

कार्यक्रममा करिब पाँच हजारभन्दा बढी युवा तथा विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको केवाइसीका संयोजक राजु टण्डनले बताए ।