काठमाडौं : चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले गत आर्थिक वर्षको नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा २ अर्ब ४६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२४ मा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा १८.६ प्रतिशत रहेको थियो भने सन् २०२५ मा ३८ प्रतिशत पुगेको थियो । गत वर्षको नौ महिनामा घटेर २९.९ प्रतिशतमा आएको छ । पछिल्लो समय सिमेन्टको बिक्री मूल्यमा आएको सुधारले कम्पनीको मार्जिन र ऋण तिर्ने क्षमतामा केही सकारात्मक प्रभाव पारेको भए पनि त्यसको दीर्घकालीन स्थायित्व अझै स्पष्ट नभएको जनाइएको छ ।
प्रतिवेदन अनुसार कम्पनीको ऋण भार पनि उच्च रहेको छ । कुल ऋण र नेटवर्थको अनुपात सन् २०२४ र २०२५ मा ५.६ गुणा रहेकोमा ९ महिनामा बढेर ७.२ गुणा पुगेको छ । त्यस्तै, कुल बाह्य दायित्व र नेटवर्थको अनुपात ७.८ गुणा पुगेको छ ।
ऋण भुक्तानी क्षमतामा केही सुधार देखिए पनि कम्पनी अझै सुरक्षित अवस्थामा पुग्न नसकेको रिपोर्टले औँल्याएको छ । ब्याज भुक्तानी क्षमता सन् २०२४ मा ०.३ गुणा रहेकोमा सन् २०२५ मा १ गुणा र गत आर्थिक वर्षको नौ महिनामा १.१ गुणा पुगेको छ । ऋण सेवा कभरेज रेसियो पनि ०.३ गुणाबाट बढेर १ गुणा पुगेको छ ।
तथापी, विगतमा स्थगित गरिएको ब्याजसहित नियमित साँवा तथा ब्याज तिर्न कम्पनीको नगद प्रवाह अझै पर्याप्त नभएको रिपोर्टमा उल्लेख छ । कम्पनीको बैंक ऋण भुक्तानी क्षमता कमजोर बन्दै गएको देखिएको छ । कम्पनीले ऋण दायित्व भुक्तानीमा पटक-पटक ३० दिनभन्दा बढी ढिलाइ गरेपछि रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन तथा अल्पकालीन ऋणको रेटिङ पुनः ‘डिफल्ट’ श्रेणीमा कायम गरेको छ ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि १३ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि १० अर्ब ९० करोड रुपैयाँ र अल्पकालिन कर्जाका लागि २ अर्ब ७५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ ।
कम्पनीमा लामो समयदेखि कायम रहेको तरलता दबाबका कारण ब्याज तथा साँवाभुक्तानीमा पटक-पटक ढिलाइ हुँदा कम्पनीको रेटिङमा सुधार हुन नसकेको हो ।
पाल्पामा निर्माण गरिएको क्लिंकराइजेसन परियोजनाले अपेक्षित समयमा स्थायित्व हासिल गर्न नसक्दा कम्पनीको वित्तीय दबाब बढेको रिपोर्टमा उल्लेख छ । सन् २०२३ देखि सञ्चालनमा आएको दैनिक २ हजार ९५० टन क्षमताको क्लिंकर प्लान्ट सञ्चालनमा आएलगत्तै नेपालमा सिमेन्टको माग कमजोर बनेपछि परियोजनाको क्षमता उपयोग र प्रतिफल अपेक्षाअनुसार हुन सकेन।
त्यसमाथि दैनिक १ हजार टन क्षमताको ग्राइन्डिङ युनिट निर्माणमा पनि प्रारम्भिक अनुमानभन्दा ढिलाइ भएको छ। परियोजनाको लागत बढ्दै जाँदा कम्पनीमाथिको ऋण भार थपिएको छ। करिब १३ अर्ब २३ करोड रुपैयाँ लागतमा निर्माण भएको क्लिंकराइजेसन परियोजनामा ऋण र इक्विटीको अनुपात करिब ७९ः२१ रहेको थियो। उच्च ऋण लगानीका कारण परियोजनाबाट पर्याप्त प्रतिफल आउनुअघि नै कम्पनीमाथि वित्तीय दायित्वको दबाब बढेको देखिन्छ।
यद्यपि पछिल्लो नौ महिनामा प्लान्टको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको छ। क्लिंकर प्लान्टको क्षमता उपयोग करिब ४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा करिब २५ प्रतिशत मात्र थियो। तर लगानी र ऋणको आकारलाई हेर्दा ४२ प्रतिशत क्षमता उपयोग अझै न्यून मानिएको छ। कम्पनीको कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात पनि नौ महिनामा १३.३ गुणा रहेको छ।
चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज प्रालिको दैनिक १ हजार ५०० टन क्षमताको ग्राइन्डिङ युनिट सन् २०१३ देखि सञ्चालनमा छ। उक्त युनिटलाई आवश्यक पर्ने क्लिंकरको बिक्रीबाट सीजी पाल्पाले निश्चित बजार पाउने आधार बनेको छ। गत आर्थिक वर्षको नौ महिनामा कम्पनीको करिब ४२ प्रतिशत आम्दानी समूहकै उक्त युनिटलाई क्लिंकर बिक्रीबाट आएको छ।
पाल्पाको कारखाना चुनढुंगा खानीसँग तुलनात्मक रूपमा नजिक रहेकाले कच्चा पदार्थको लागतमा प्रतिस्पर्धात्मक लाभ लिन सक्ने सम्भावना पनि कम्पनीसँग छ। यसैगरी, निर्माणाधीन दैनिक १ हजार टन क्षमताको ग्राइन्डिङ युनिट सञ्चालनमा आएपछि क्लिंकरको बिक्रीसँगै कम्पनीको उत्पादन र आम्दानी बढ्ने जनाइएको छ ।
सीजी सिमेन्ट पाल्पा सन् २०११ मा स्थापना भएको हो। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–सर्देवामा रहेको कम्पनीले हाल दैनिक २ हजार ९५० टन क्षमताको क्लिंकराइजेसन प्लान्ट सञ्चालन गरिरहेको छ।
कम्पनीसँग दैनिक २ हजार ८०० टनसम्मको इजाजतप्राप्त ग्राइन्डिङ क्षमता रहेकामा पहिलो चरणमा दैनिक १ हजार टन क्षमताको ग्राइन्डिङ युनिट निर्माण भइरहेको छ।