काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले एक अर्ब ५७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.०५ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको कुल खर्च बढेका कारण नाफामा असर परेको हो । साथै कम्पनीको सञ्चालन आम्दानी पनि घटेका कारण नाफा घटेको हो । गत वर्ष ५ अर्ब ९६ करोड ५८ लाख रुपैयाँ रहेको कुल र्ख २.२२ प्रतिशतले बढेर ६ अर्ब ९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको कुल आम्दानी ४.४० प्रतिशतले घटेर ८ अर्ब तीन करोड ८३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल आम्खनाी ८ अर्ब ४८ करोड ६९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै कम्पनीको सञ्चालन आम्दानी ४.०३ प्रतिशले घटेको छ ।
असार मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको इपीएस ४२९.५३ रुपैयाँ घटेर १७१२.२७ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २७.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५५३९ रुपैयाँ रहेको छ।
असार मसान्तसम्म ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको छ।