काठमाडौं : नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक अर्ब ३५ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७२ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्म आइपुग्दा कोषको खुद ब्याज आम्दानी र कुल आम्दानी बढेका कारण नाफामा वृद्धि देखिएको हो । अघिल्लो वर्ष ३३ करोड ७४ लाख ३० हजार रुपैयाँ रहेको कोषको ब्याज आम्दानी ८.१० प्रतिशतले बढेर ३६ करोड ४७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कोषको सेवा तथा कमिशन आम्दानी ८.३८ प्रतिशत बढेको छ भने कुल आम्दानी ७.२८ प्रतिशत बढेको छ । त्यस्तै कोषको कुल खर्च ४२ करोड ४२ लाख रुपैयाँबाट बढेर ४४ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा आइपुग्दा नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढेको घटेको छ। असार मसान्तसम्म कोषको इपीएस ०.५० रुपैयाँले बढेर १९.८४ रुपैयाँ पुगेको छ। त्यस्तै कोषको मूल्य आम्दानी अनुपात ८४.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२.४७ रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म छ अर्ब ८० करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा १२ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ सञ्चित छ।