Below Menu

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

काठमाडौं : क्रिएसन नेपालद्वारा सञ्चालन गरिएको ‘सफा गरौँ’ अभियानअन्तर्गत श्रावण महिनाका सोमबार सञ्चालन हुँदै आएको विशेष सरसफाइ कार्यक्रम पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ ।

वर्षकै सबैभन्दा व्यस्त धार्मिक यात्राको अवधिमा सञ्चालन गरिएको यस अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । 

द कोका-कोला फाउन्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा क्रिएसन नेपालको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानले श्रावण महिनामा पशुपतिनाथ मन्दिर क्षेत्रमा बढ्ने भक्तजनको चापलाई ध्यानमा राख्दै फोहोर व्यवस्थापन र सरसफाइमा सहयोग पुर्याएको हो । 

श्रावण महिनाभर लाखौँ भक्तजन तथा दर्शनार्थी पशुपतिनाथ पुग्ने भएकाले स्थानीय कर्मचारी तथा स्वयंसेवकलाई फोहोर व्यवस्थापन र मन्दिर परिसरको सरसफाइमा सक्रिय बनाउन, फोहोरको उचित व्यवस्थापन गर्न तथा जथाभावी फोहोर नफाल्ने बानीलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गरिएको थियो । यसले भक्तजन तथा आगन्तुकका लागि थप स्वच्छ र सफा वातावरण निर्माण गर्न सहयोग पुर्याएको छ ।

समापन कार्यक्रममा दिगोपन तथा वातावरणीय, सामाजिक र सुशासनसम्बन्धी मूल्य अभिवृद्धि विभागका निर्देशक आदित्य पाण्डा, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कोनाले, क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्की, क्रिएसनका संस्थापक आनन्द मिश्र, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

द कोका-कोला फाउन्डेसनका अध्यक्ष, कार्लोस पागोआगाले भने, “फोहोर व्यवस्थापनमा सुधार ल्याउन र जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्न सहकार्य निकै महत्वपूर्ण हुन्छ । ‘सफा गरौँ’ अभियानमार्फत हामी स्थानीय समुदायलाई फोहोरको राम्रो व्यवस्थापनका लागि सक्रिय र सक्षम बनाउन सहयोग गर्न चाहन्छौँ । यसले सार्वजनिक स्थानलाई सफा राख्न र दीर्घकालीन रूपमा वातावरणप्रति जिम्मेवार बन्न पनि योगदान पुर्याउँछ ।”

श्रावण महिनाभर हरेक सोमबार सञ्चालन गरिएको कार्यक्रममा स्वयंसेवकहरूले प्रत्येक साता दुई दर्जनभन्दा बढी सरसफाइकर्मीसँग मिलेर फोहोर संकलन तथा वर्गीकरण गरेका थिए । साथै, फोहोरको उचित व्यवस्थापन, सरसफाइको महत्व र नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सामूहिक प्रयासको आवश्यकताबारे जनचेतना फैलाइएको थियो ।

क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विभिन्न चुनौतीका बाबजुद अभियानलाई सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै भने, “आगामी दिनमा द कोका-कोला फाउन्डेसनको सहयोग र सहकार्यलाई देशव्यापी रूपमा विस्तार गर्ने हाम्रो लक्ष्य छ । ‘सफा गरौँ’ लाई एकपटक मात्र सञ्चालन हुने कार्यक्रमका रूपमा नभई निरन्तर सञ्चालन हुने राष्ट्रिय अभियानका रूपमा बुझिनुपर्छ ।”

पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव तीर्थ प्रसाद श्रेष्ठले भने, “पशुपति क्षेत्रको पर्यावरण संरक्षण तथा संवद्र्धनमा पुर्याउनुभएको महत्वपूर्ण सहयोग र योगदानका लागि कोका-कोला फाउन्डेसनप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ । साथै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ ।” 

कार्यक्रमअन्तर्गत पुनःप्रयोग गरिएको प्लास्टिकका बोतलबाट तयार गरिएका बस्ने बेन्चहरूको समेत उद्घाटन गरिएको थियो । यसले प्लास्टिकजन्य फोहोरलाई पुनःप्रयोग गरी सार्वजनिक उपयोगका सामग्रीमा रूपान्तरण गर्न सकिने अवधारणालाई व्यवहारमा उतार्न सकिने सन्देश दिएको छ ।

अभियानमा योगदान पुर्याउने स्वयंसेवक, सरसफाइकर्मी तथा साझेदार संस्थाहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । निरन्तर सहयोगका लागि पशुपति क्षेत्र विकास कोषले द कोका-कोला फाउन्डेसनलाई प्रशंसापत्र प्रदान गरेको थियो । साथै, चार सातासम्म अभियानमा सक्रिय रूपमा सहभागी भएका स्वयंसेवक तथा सरसफाइकर्मीहरूलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । 

श्रावण महिनाको यस अभियानबाट प्राप्त उत्साहलाई निरन्तरता दिँदै ‘सफा गरौँ’ अभियानले १४ सेप्टेम्बर २०२६ मा पर्ने हरितालिका तीजसम्म विभिन्न सरसफाइ तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्नेछ । अभियानले समुदायको सहभागिता बढाउने, फोहोरको उचित व्यवस्थापन तथा दिगो अभ्यासलाई प्रोत्साहन गर्ने र नेपालको सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा सहयोग पु¥याउने लक्ष्य राखेको छ ।


 

थप समाचार