काठमाडौं : रिसाइकल कम्पनी लोहम क्लिनटेक प्राली इन्डियाका असिसटेन्ट जनरल म्यानेजर तथा बिजनेस पार्टनरशिप जतिन मक्कारले इभीमा भएको ब्याट्री फोहोर होइन रिसाइकल गरेपछि मूल्यवान बस्तु बन्ने बताएका छन्।
नाइमाले आयोजना गरेको लर्निङ सेसनमा ब्याट्री रिसाइकल र इथानोल ब्लेन्डिङ विषयमा बोल्दै ब्याट्री रिसाइकल कम्पनी लोहम क्लिनटेक प्राली इन्डियाका बिजनेस पार्टनरशिप मक्कारले यस्तो बताएका हुन्।
इभीको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा ब्याट्रीलाई खतरनाक फोहोर वा हजार्डस वेस्ट भनिए तापनि मक्करले यो घरमा सुरक्षित राखिने सुन जस्तै अत्यधिक मूल्यवान सामग्री भएको बताए।
‘नेपाल र भारत जस्ता देशहरूमा आयात हुने ब्याट्रीहरूमा अलुमिनियम, कपर, लिथियम, निकल र कोबाल्ट जस्ता क्रिटिकल तथा बहुमूल्य खनिजहरू हुन्छन्,’ उनले भने, ‘जबसम्म हामी ब्याट्रीलाई केवल फोहोर वा खतरनाक भनेर सोच्छौँ, तबसम्म यसलाई जसरी पनि पन्छाउने सोच विकास हुन्छस तर यसलाई उपयोगी र मूल्यवान सामग्रीका रूपमा हेर्न थालेपछि यसलाई संरक्षण गर्ने दृष्टिकोण बन्छ।’
मक्कारका अनुसार नेपालमा आयात हुने गाडीहरूको ब्याट्री प्याक ५० देखि ६० किलोवाट आवर क्षमताको र करिब ४०० किलो तौलको हुने हुनाले त्यसमा रहेका करिब ३०० किलोभन्दा बढी सामग्रीहरूलाई पुनः प्रयोग गर्न सकिन्छ।
ब्याट्रीको जीवन समाप्त भएपछि पनि यसमा पर्याप्त ऊर्जा बाँकी रहने हुनाले यसको शतप्रतिशत आर्थिक मूल्य हुने मक्कारले बताए। यसमा ऊर्जाको पुनः प्रयोगबाट प्राप्त हुने मूल्य एलिमेन्ट निकाल्दा भन्दा बढी हुन्छ।
यो व्यवस्थापनको प्रभावकारी तरिका भनेको अन्तिम उपभोक्तालाई पुरानो ब्याट्री फिर्ता गर्दा उचित मूल्य वा इन्सेन्टिभ दिनु रहेको मक्कारको भनाइ छ। जसले गर्दा संकलन प्रणाली बलियो बन्ने उनले बताए।
मक्कारका अनुसार नेपालमा हाल प्रभावकारी विस्तारित उत्पादक उत्तरदायित्व नीति परिभाषित नभएका कारण, नीति निर्माता र यस क्षेत्रका विज्ञहरूको अनुभवका आधारमा घरेलु बजार सुहाउँदो नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ।