Below Menu

प्रविधिले भरिएका गाडी भित्रिए, तर चलाउने र मर्मत गर्ने जनशक्ति तयार भएन : डा. थपलिया

प्रविधिले भरिएका गाडी भित्रिए, तर चलाउने र मर्मत गर्ने जनशक्ति तयार भएन : डा. थपलिया

काठमाडौं :  नेपालमा अटोमोबाइल क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि अनुकूल जनशक्ति उत्पादन गर्न शिक्षण संस्थाले आफ्नो पाठ्यक्रम, शिक्षण विधि र प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्ने टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलियाले बताएका छन् । 

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजीः ड्राइभिङ द फ्यूचर अफ मोबिलिटी’ संवादमा बोल्दै थपलियाले नेपालका शैक्षिक संस्थाले भविष्यको अटोमोबाइल उद्योगका लागि आवश्यक जनशक्ति उत्पादन गर्न अझै पर्याप्त तयारी नगरेको पनि उल्लेख गरे । 

‘नेपालमा विद्युतीय तथा अत्याधुनिक सवारीसाधनको प्रयोग बढ्दै गए पनि त्यसअनुसारको प्रविधि, अनुसन्धान र जनशक्ति विकासमा पर्याप्त ध्यान नपुगेको छैन, विशेष गरी विद्युतीय सवारीसाधनमा देखाइने किलोमिटर रेन्ज, चार्जिङ स्टेसनको उपलब्धता र यात्राका क्रममा हुने प्राविधिक जोखिमजस्ता विषयमा स्थानीय आवश्यकता र विश्वसनीयताका आधारमा अनुसन्धान आवश्यक रहेको छ उनले भने । 

थपलियाले अहिले नेपालका अधिकांश कलेज तथा विश्वविद्यालयमा प्रोग्रामिङ, वेब डेभलपमेन्ट, डेटाबेस, नेटवर्किङ, साइबर सुरक्षालगायतका परम्परागत विषयमा बढी केन्द्रित भएर पढाइ भइरहेको बताए । तर आधुनिक सवारीसाधनमा प्रयोग भइरहेका सेन्सर, स्वचालन, एआई तथा अन्य डिजिटल प्रविधिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनतर्फ पर्याप्त ध्यान नपुगेको उनको भनाइ छ । 

थपलियाले ग्लोबलाइजेसन सबैका लागि स्वीकार्य नहुन सक्ने पनि बताएका छन् । ‘अटो मोबाइलको कुरा गर्ने हो भने हामीसँग राजा महाराजाले गाडी बोकाएर ल्याएको इतिहास छ । अहिले त्यहाँबाट यहाँसम्मको इतिहास बोकेको अनुभव छ । ग्लोबलाइजेसन सबैका लागि स्वीकार्य नहुन सक्छ । कुनै समृद्ध राष्ट्रका लागि बनेको गाडी र हाम्रो रोडका लागि बनेको गाडी फरक हुन जान्छ । त्यसैले सबैका लागि त्यो नहुन सक्छ’, उनले भने, ‘विकसित राष्ट्रहरूले सवारी साधनदेखि बाटोसम्मको रिसर्च गरेका छन् । नेपाली विद्यार्थी खत्रा छन् । त्यत्तिले मात्रै पुग्दैन । अहिलेको पाठ्यक्रममा नै परिवर्तन गर्नुपर्ने छ ।’ 

‘अहिले एआईको प्रयोग र प्रभाव कल्पना गर्न नसकिने अवस्थामा छ । झन् शिक्षा क्षेत्रमा यसले बहुत परिवर्तन ल्याएको छ । अहिले यसको प्रयोग कहाँबाट कहाँ पुगेको छ । पहिले जसरी पढाउने कुरा थियो, विद्यार्थीलाई दिने कुरा थियो, अहिले विद्यार्थी निकै स्मार्ट भइसकेका छन् । त्यसले धरै राम्रो गरेको छ । कुनै समयमा हामी बत्ती गएर पढ्ने कुरा लामो जान्थ्यो । हप्ता दिन लगाएर पढिन्थ्यो । यसरी पढेकाहरूले एकै छिनमा यसरी काम भएको देख्दा अचम्म  पनि लाग्छ । विद्यार्थीलाई एआइले छोटोभन्दा छोटो समयमा स्मार्ट बनाएको छ । शिक्षामा बाहिरबाट भेन्डर ल्याउनै पर्दैन । विद्यार्थी नै स्मार्ट र फरवार्डेड छन् । विद्यार्थीलाई हामीले काम गराउन सक्छौं र गरिरहेका पनि छन् ।’

उनका अनुसार अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) , साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिङ, अटोमोटिभ सफ्टवेयर र डिजिटल फरेन्सिक जस्ता विषयलाई शिक्षामा प्राथमिकताका साथ समावेश गर्नुपर्ने आवश्यकता छ ।  उनले हाल बजारमा आएका नयाँ पुस्ताका सवारीसाधनमा ठुलो स्क्रिन, विभिन्न सेन्सर, स्वचालित प्रणाली, चेतावनी प्रणाली तथा सफ्टवेयर अपडेटजस्ता प्रविधि प्रयोग भइरहे पनि नेपाली विद्यार्थीलाई त्यस्ता प्रविधिसँग प्रत्यक्ष रूपमा परिचित गराउने शैक्षिक संरचना पर्याप्त नभएको बताए।

‘गाडीको ब्याट्री र चार्ज गर्न ठाउँमा पनि रिसर्च भएका छन् । ईभीमा मैले छिट्टै विश्वास गर्न नसकेको अवस्था छ । परिवार सहित कसरी ईभीमा जाने भन्ने कुरा अझै शङ्काको घेरामा छ । हामीले स्थानीय तहमा सवारी साधनको प्रयोग र विकास कसरी भइरहेको छ ? भोलिका लागि हामी अटोमोबाइलका लागि तयार छौँ भन्ने वातावरण बनाइरहेका छैनौँ । पढाउने कुरा पनि त्यस्तै छ’, उनले भने, ‘अहिलेका गाडीहरू प्रविधिले भरिएका छन् तर, त्यही प्रविधिका लागि हामीले आफ्ना विद्यार्थी तयार गरिरहेका छैनौँ । रिसर्च एउटा सामान्य बस चलाउँदा कति पैसा जोगाउन सकिन्छ भन्ने कुरामा पनि हुनुपर्छ । एआईको प्रयोगमा पनि कसरी तयार गरिरहेका छौँ । अहिले  करोडौँका सवारीमा प्रयोग भएका प्रविधिका लागि विद्यार्थी तयार गरिरहेका छैनौँ । रिसर्चका लागि थुप्रै ठाउँ छ । कलेजहरू पनि रिसर्चका लागि ठाउँ खोजिरहेका छन् ।’

थपलियाले निजी सवारीसाधनसँगै सार्वजनिक यातायातमा पनि विद्युतीय तथा स्वचालित प्रविधिको सम्भावनाबारे अनुसन्धान गर्नुपर्ने बताए। नेपालजस्तो देशमा विद्युत्को प्रयोगबाट सार्वजनिक यातायात सञ्चालन गर्दा आर्थिक तथा वातावरणीय रूपमा कस्तो लाभ लिन सकिन्छ भन्ने विषयमा समेत अनुसन्धान गर्न सकिने उनको भनाइ थियो।

उनले अटोमोबाइल क्षेत्रका उद्योग र शैक्षिक संस्थाबिच अनुसन्धान तथा लगानीमा सहकार्य आवश्यक रहेको बताए। विश्वविद्यालय तथा कलेजहरूले अनुसन्धानका लागि उद्योगबाट सहयोग र लगानी खोज्नुपर्ने तथा उद्योगले पनि भविष्यमा आवश्यक पर्ने जनशक्ति विकासमा शैक्षिक संस्थासँग सहकार्य गर्नुपर्ने उनको धारणा छ ।

नेपालमा अटोमोबाइल प्रविधि तीव्र रूपमा परिवर्तन भइरहेका बेला शिक्षण संस्थाले समयमै पाठ्यक्रम र अध्ययन प्रणाली परिवर्तन गर्न नसके भविष्यको रोजगारी तथा प्रविधि विकासमा नेपाली विद्यार्थी पछि पर्न सक्ने उनले बताए ।

थप समाचार