काठमाडौं : नेपालकै ठूलो प्रारम्भिक सहकारी भापा स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चुनावी चुनावी सरगर्मी बढेको छ। संस्थाको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन्।
आगामी असोज १० गते हुने निर्वाचनका लागि निर्वाचन समितिले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको हो ।
अध्यक्ष पदमा छविलाल खतिवडा, भरत कुमार गिरी र उपेन्द्र प्रसाद ओलीले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेसँगै सहारा नेपालको आगामी नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बनेको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा पाँच जना उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्षका लागि नेत्रबहादुर नेपाल, प्रेमप्रसाद पौडेल, ज्ञानुनाथ मैनाली, टेकनाथ खनाल (टंक) र हेमराज गिरीले उम्मेदवारी दिएका छन् ।
महिला उपाध्यक्ष पदमा पनि पाँच जनाको उम्मेदवारी परेको छ । पार्वता भारती गिरी, नर्वदा संग्रौला, सुश्री हरिमाया सिग्देल, गुहेश्वरी बुढाथोकी र खीनमाया बस्नेतले उम्मेदवारी दिएका छन् ।
यसैगरी, कोषाध्यक्ष पदमा पाँच जना प्रतिस्पर्धामा छन् । कोषाध्यक्षका लागि लक्ष्मीप्रसाद आचार्य, दुर्गाप्रसाद भण्डारी, भीमबहादुर गिरी, भोला घिताल र विकास रिजालले उम्मेदवारी दिएका छन् ।
सञ्चालक समितिको सदस्य पदमा पुरुषतर्फ ४२ जना र महिलातर्फ १० जना गरी ठूलो संख्यामा उम्मेदवारी परेको छ । संस्थाको निर्वाचन संरचनाअनुसार सञ्चालक समितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ५ जना सदस्य रहने व्यवस्था छ । जसमामा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा दुई जना र सदस्य पदमा आठ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन उपसमितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता साउन ३० गते गरिएको थियो । सोही दिन उम्मेदवारको पहिलो सूची प्रकाशन गरिएको थियो । उम्मेदवारमाथि दाबी–विरोध, छानबिन तथा नामावली प्रकाशनका विभिन्न चरण पूरा गरेपछि अन्तिम उम्मेदवारको नामावली भदौ २२ गते प्रकाशन गर्ने कार्यतालिका छ ।
असोज १० गते हुने मतदान बिहान ५ बजेदेखि ७ बजेसम्म तोकिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने र मतगणना सकिएपछि निर्वाचनको परिणाम घोषणा गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।