Below Menu

सहकारी सञ्चालनमा बाधक कानुन संशोधन गर्नुपर्छ : अध्यक्ष बल्ल

सहकारी सञ्चालनमा बाधक कानुन संशोधन गर्नुपर्छ : अध्यक्ष बल्ल

भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहकारी नगर सहकारी समन्वय उपसमितिको आयोजनामा होटल यचु, भक्तपुरमा सञ्चालित एकदिने सदस्य सक्षमता विकास तालिम सम्पन्न भएको छ । 

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सहकारी नेतृत्वले गलत प्रवृत्तिका व्यक्तिको प्रवेशका कारण सहकारी क्षेत्र बदनाम भएको र त्यसको मार समुदायमा आधारित असल सहकारीहरूले खेप्नुपरेको बताएका छन् । 

साथै सरकारले सहकारीलाई सदस्य नियन्त्रित बनाउनुको साटो सबैलाई एउटै डालोमा राखेर राज्य नियन्त्रित कानुन ल्याएको भन्दै सहकारी सञ्चालनमा बाधक कानुन संशोधनका लागि सरोकारवालाहरूले निरन्तर खबरदारी र आवाज उठाइरहनु पर्नेमा जोड दिइएको छ ।

संघका अध्यक्ष हरिकृष्ण बल्लले वर्तमान समयमा सहकारी संस्थाहरूले जटिल कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको औंल्याए । सहकारी जस्तो पवित्र स्थलमा गलत नियत भएका व्यक्तिहरूको प्रवेशले गर्दा समग्र सहकारी अभियान नै बदनाम हुन पुग्यो,जसको सजाय समुदायमा सही ढंगले चलेका राम्रा सहकारीहरूले भोग्नुपरेको छ, अध्यक्ष बल्लले भने ।  

उनले थपे, ‘केही संस्थामा विकृति देखियो भन्दैमा सबैलाई एउटै डालोमा हेरेर सरकारले सहकारीलाई सदस्य नियन्त्रित भन्दा पनि राज्य नियन्त्रित बनाउने गरी कानुन बनाएको छ । मौजुदा ऐन कानुनको पालना हामीले गर्नैपर्छ, तर सहकारी संस्था सञ्चालनमा बाधक हुने प्रावधानहरूको संशोधनका लागि विरोधका आवाजहरू निरन्तर उठाइ रहनुपर्छ ।’

एक जना सञ्चालक वा कर्मचारीलाई मात्र तालिम दिँदा अपेक्षित प्रभावकारिता नदेखिएकाले संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारी सबैलाई एकै ठाउँमा राखेर तालिम सञ्चालन गरिएको प्रष्ट पार्दै यसले संस्थाको दिगो विकासमा ठोस टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । 

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी ऐन नियम अनुसार संस्थाको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्र सहकारी सञ्चालनसम्बन्धी अनिवार्य तालिम लिनुपर्ने कानुनी व्यवस्थालाई सहजीकरण गर्न संघले यो तालिम आयोजना गरेको जानकारी दिए । 

उनले प्रत्येक सहकारी संस्थाले हरेक वर्ष आफ्नो वार्षिक बजेटमै आवश्यक रकम विनियोजन गरी सञ्चालक, कर्मचारी र सदस्यहरूको क्षमता विकासका लागि निरन्तर तालिमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । 

तालिममा संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीको अवधारणा, विकासक्रम, अन्तर्राष्ट्रिय सिद्धान्त र व्यावहारिक प्रयोगका साथै सञ्चालक समिति तथा उपसमितिहरूको काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गरेका थिए । 

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली तथा प्रभावकारी बैठक सञ्चालन र निर्णय (माइन्युट) लेखनका विषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।  

तालिममा सहभागी संस्थाहरूको तर्फबाट मन्तव्य राख्दै केदारनाथ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजभाइ तजले र छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिशरण अवालले तालिम अत्यन्त प्रभावकारी र समयसान्दर्भिक भएकोमा खुसी व्यक्त गरे । 

संस्थाहरूबीच आपसमा लागत साझेदारी (ऋयकत क्जबचष्लन) गरी न्यून लागतमा व्यवस्थित र गुणस्तरीय तालिम लिन पाएको उल्लेख गर्दै उनीहरूले तालिममा सिकेका ज्ञान र सीपलाई आ(आफ्नो संस्थाको दैनिक अभ्यासमा लागू गर्ने प्रतिबद्धता जनाए । 

संघका कर्मचारी राजन कासिछ्वाले सफलतापूर्वक सञ्चालन गर्नु भएको उक्त समापन सत्रमा सदस्य सहकारी संस्थाका सञ्चालक, लेखा समिति पदाधिकारी तथा कर्मचारीहरू गरी कुल ३१ जनाको सक्रिय सहभागिता रहेको थियो ।