वाशिङ्टन : इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासले केही खाडी सहयोगी राष्ट्रमा असन्तुष्टि बढाएको छ। लामो समयदेखि अमेरिका र इरानबीच वार्ता भइरहे पनि अहिलेसम्म ठोस सहमति हुन नसकेपछि खाडी मुलुकहरूमा चिन्ता बढेको बताइएको छ।
द वासिङ्टन पोस्टको रिपोर्टअनुसार, अमेरिकी प्रयास अपेक्षित परिणामतर्फ अघि नबढेको भन्दै केही खाडी सहयोगी निराश छन्। तर ह्वाइट हाउसले खाडी देशहरू ट्रम्पसँग असन्तुष्ट रहेको खबर अस्वीकार गरेको छ। एक अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको खाडी नेताहरूसँग राम्रो सम्बन्ध छ र युद्ध सुरु भएदेखि अमेरिकाले उनीहरूसँग निरन्तर सम्पर्क गरिरहेको छ।
एक्सियोसका अनुसार ट्रम्पले गत साता अमेरिकाले तत्काल ईरानमाथि नयाँ हमला गर्ने तयारी नगरेको बताएका थिए। उनले अमेरिका र ईरानबीच अहिले पनि सीमित रूपमा कुराकानी भइरहेको र ईरानको कमजोर आर्थिक अवस्थालाई अमेरिकाले नजिकबाट नियालिरहेको बताएका छन्।
यसअघि ट्रम्पले ईरानमाथि प्रस्तावित एक सैन्य हमला पनि रोकेका थिए। तत्काल सम्झौता हुन सके सैन्य कारबाही आवश्यक नपर्ने उनको भनाइ थियो।
इरानबारे खाडी देशहरूको धारणा फरक
अमेरिकाका सहयोगी खाडी राष्ट्रहरू ईरानसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा भने एकमत छैनन्। संयुक्त अरब इमिरेट्स ईरानमाथि थप सैन्य दबाब बढाउनुपर्ने पक्षमा देखिएको छ।
उनको धारणा अनुसार ईरानको रिभोलुसनरी गार्डलाई पछि हटाउन अमेरिका र उसका सहयोगीले सैन्य दबाब बढाउनुपर्ने तथा होर्मुज स्ट्रेटमाथि नियन्त्रण सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।
यसको विपरीत, साउदी अरब वार्ता र तनाव कम गर्ने पक्षमा छ। उसले यसअघि होर्मुज स्ट्रेटलाई सैन्य शक्तिको प्रयोग गरेर खोल्ने अमेरिकी योजनाको विरोध गरेको थियो। साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले पनि ट्रम्पसँग फोनवार्ता गर्दै सैन्य कारबाही नगर्न आग्रह गरेका थिए।
कतरले भने अमेरिका, ईरान र ओमानबीचको संवादमा मध्यस्थको भूमिका निर्वाह गरेको छ। कतारी अधिकारीहरूले ट्रम्पलाई ईरानले होर्मुज स्ट्रेटसम्बन्धी एउटा प्रस्ताव स्वीकार गरेको जानकारी दिएका थिए।
ईरानी राष्ट्रपति मसूद पजशकियानले अमेरिका र इजराइलले खाडी राष्ट्रहरूलाई ईरानविरुद्ध उभ्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
ईरानी सरकारी टेलिभिजनसँग कुरा गर्दै उनले अमेरिका र इजराइलले ईरानका आन्तरिक समस्याको फाइदा उठाउन खोजिरहेको बताएका छन्। साथै, उनले छिमेकी खाडी राष्ट्रहरूसँग सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
होर्मुज स्ट्रेट नै वार्ताको मुख्य अड्चन
अमेरिका र इरानबीचको वार्तामा होर्मुज स्ट्रेट सबैभन्दा महत्वपूर्ण विषय बनेको छ। ट्रम्पले स्ट्रेट तत्काल र पूर्ण रूपमा खोल्नुपर्ने माग गर्दै आएका छन्। तर इरानले त्यसअघि अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र ईरान नजिक तैनाथ अमेरिकी सैनिकलाई पछि हटाउनुपर्ने माग गरेको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार होर्मुज स्ट्रेटबारे ईरान र ओमानबीच छुट्टै छलफल भइरहेको छ। समुद्रमा जहाज आवतजावतका लागि मार्ग निर्धारणलगायत प्राविधिक विषयमा कुराकानी भइरहेको उनले बताएका छन्।
अराघचीले यो संवाद अमेरिका र ईरानबीच भइरहेको वार्ताभन्दा अलग रहेको स्पष्ट पारेका छन्।
अमेरिका र इरानबीच सम्भावित सम्झौताको भविष्य अब होर्मुज स्ट्रेट खोल्ने विषयमा सहमति बन्ने वा नबन्नेमा निर्भर देखिएको छ। यसबीच खाडी राष्ट्रहरूको फरक-फरक धारणा र क्षेत्रीय तनावले अमेरिकी कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ।