काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्रध्यापक भगवती सेढाइले नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनेभन्दा उपलब्ध सम्भावनालाई पहिचान गर्दै आशा र आत्मविश्वास बढाउनुपर्ने बताएकी छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा शिप र उद्यमशीलताको खाडल पुर्ने’ संवादमा बोल्दै उनले यस्तो बताइन् ।
उनले नेपालमै गुणस्तरीय शिक्षा, सीप विकास र रोजगारीका अवसर सिर्जना गर्न सकिने भए पनि विद्यार्थीलाई निराश बनाउने खालको वातावरण निर्माण भइरहेको बताइन्।
नेपालमा खुलेका शैक्षिक कन्सल्टेन्सीहरूले विद्यार्थीमा ‘नेपालमा केही हुँदैन, विदेश गएपछि मात्रै अवसर पाइन्छ’ भन्ने भाष्य निर्माण गरिरहेको बताएकी छन्।
उनले नेपालमै अवसर सिर्जना गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक रहेको बताइन्। नेपालमा धेरै काम गर्न सकिने सम्भावना हुँदाहुँदै पनि सहकार्य र समन्वयको पक्ष कमजोर रहेको उनको भनाइ छ।
विशेषगरी विश्वविद्यालयले उद्योगलाई आवश्यक पर्ने जनशक्तिबारे उद्योगी तथा व्यवसायीसँग पर्याप्त छलफल गरेर पाठ्यक्रम निर्माण गर्नुपर्ने उनले बताइन्। उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्ने विषयमा पर्याप्त बहस गर्न नसकिएको उनले स्वीकार गरिन्।
‘नेपालमा भएका उद्योगलाई कस्ता जनशक्ति चाहिएको छ भनेर हामीले कोर्स बनाउनुअघि उहाँहरूलाई बोलाएर छलफल गर्न सकेनौँ। त्यसमा हामीले गल्ती गरेका छौँ भन्नुपर्छ,’ उनले भनिन्।
युवासँग सम्बन्धित उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनका लागि सरकारले नीति तथा कार्यक्रम बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको उनले बताइन्।
‘पोलिसी बनेको छ, प्रोग्राम बनेको छ। तर त्यो कागजमा मात्रै सीमित भयो। भएका नीतिमा आवश्यक परिमार्जन गरेर व्यवहारमा कार्यान्वयन गर्न सक्यौँ भने धेरै काम गर्न सक्छौँ,’ उनले भनिन्।
उनले निजी क्षेत्रलाई पनि सीप विकासमा लगानी गर्न आग्रह गरिन्। उनले शैक्षिक संस्था र युवालाई लक्षित गरेर सीप विकासमा लगानी गर्ने व्यवसायिक घरानालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताइन्।
देशभर सीप विकासका कार्यक्रम विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्। स्थानीय तहदेखि निजी क्षेत्रसम्मले यस्ता कार्यक्रम सञ्चालन गरे युवालाई स्वदेशमै अवसर खोज्न सहज हुने उनको भनाइ छ।
उनले किताबको ज्ञान मात्रै लिएर बजारमा जानेभन्दा व्यवस्थापकीय, प्राविधिक तथा व्यावहारिक सीपसहितको जनशक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ छ। उनले विश्वविद्यालय, निजी क्षेत्र र सरकारबीच सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताइन्। आफू नेतृत्वमा रहेका विभाग तथा विभिन्न क्याम्पसको नेटवर्कमार्फत निजी क्षेत्रसँग सहकार्यको वातावरण बनाउन सकिने उनको भनाइ छ।