Below Menu

श्री डिस्टिलरीको व्यापार ३१ करोड १० लाख पुग्यो, १५ करोडको आईपीओ ल्याउँदै 

श्री डिस्टिलरीको व्यापार ३१ करोड १० लाख पुग्यो, १५ करोडको आईपीओ ल्याउँदै 

काठमाडौं : पछिल्ला वर्षहरुमा श्री डिस्टिलरी लिमिटेडको व्यापार बढ्दै गएको छ । सन् २०२६ को अपरिष्कृत विवरण अनुसार कम्पनीले एक वर्षमा ३१ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब ३२ प्रतिशतले बढीे हो । सन् २०२५ मा कम्पनीले २३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२४ मा १८ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । 

कारोबारसँगै कम्पनीको नाफा कमाउने क्षमतामा पनि सुधार आएको छ। नयाँ उत्पादनको योगदानसँगै उच्च मार्जिन दिने उत्पादनको बिक्री बढ्दा कम्पनीको सञ्चालन नाफा उल्लेख्य रूपमा बढेको हो। सन् २०२५ मा २.९४ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा बढेर १०.३८ प्रतिशत पुगेको छ।

त्यस्तै, कम्पनीको खुद नाफा मार्जिनमा पनि उल्लेख्य सुधार भएको छ। सन् २०२५ मा ०.३६ प्रतिशत रहेको करपछिको नाफा मार्जिन सन् २०२६ मा ३.७३ प्रतिशत पुगेको छ।  

कम्पनीको कुल नगद आर्जन क्षमतामा पनि सुधार देखिएको छ। सन् २०२६ मा कम्पनीले करिब २ करोड ५० लाख रुपैयाँ बराबरको नगद आम्दानी गरेको जनाएको छ।  

श्री डिस्टिलरीको पछिल्लो व्यवसाय विस्तारमा नयाँ उत्पादन ‘ओएसिस’ अल्ट्रा–प्रिमियम भोड्काको महत्वपूर्ण भूमिका देखिएको छ। कम्पनीले ४० अप सेग्मेन्टमा प्रवेश गर्ने रणनीतिअन्तर्गत सन् २०२६ को जनवरीमा ओएसिस भोड्का बजारमा ल्याएको थियो।

सुरुवाती चरणमा बिक्री सीमित रहे पनि आर्थिक वर्षको अन्तिम त्रैमासिकमा ओएसिसले उल्लेख्य बजार आकर्षण गरेको जनाइएको छ । सन् २०२६ मा ओएसिसले कम्पनीको कुल बिक्रीमा करिब २० प्रतिशत योगदान गरेको छ।

तुलनात्मक रूपमा उच्च मार्जिन दिने उत्पादनको बिक्री बढ्दा समग्र सञ्चालन नाफामा सुधार आएको हो। कम्पनीले आगामी दिनमा ओएसिसको बजार उपस्थिति थप बलियो बनाउने र नयाँ अप सेग्मेन्टमा प्रवेश गर्दै उत्पादन पोर्टफोलियो विस्तार गर्ने योजना अघि सारेको छ।

कम्पनीको ब्याज भुक्तानी क्षमता उल्लेख्य रूपमा बलियो बनेको छ। सन् २०२५ मा ८.२५ गुणा रहेको ब्याज कभरेज रेसियो सन् २०२६ मा बढेर ६४.१९ गुणा पुगेको छ। त्यस्तै, कुल दायित्व र नेटवर्थको अनुपात ०.०८ गुणा तथा करेन्ट रेसियो ५.७० गुणा रहेको छ । 

कम्पनीले आफ्नो सञ्चालन तथा पुँजीगत आवश्यकताका लागि मुख्यतः इक्विटीमा निर्भर रहँदै आएको छ। हाल बैंक तथा वित्तीय संस्थाबाट लिइएको उल्लेख्य ऋण कम्पनीमा छैन। ऋणरहित पुँजी संरचनाका कारण कम्पनीको वित्तीय जोखिम तथा ब्याज खर्चको भार न्यून रहेको छ। 

सन् १९८६ मा स्थापना भएको श्री डिस्टिलरी २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । कम्पनीले नेपालमा तीन दशकभन्दा लामो समयदेखि मदिरा उद्योगमा व्यवसाय सञ्चालन गर्दै आएको छ।कम्पनीको उत्पादन केन्द्र नवलपुरको अरुणखोलामा रहेको छ।

सन् २०२१ मा व्यवस्थापन परिवर्तन भएपछि कम्पनीले आफ्नो सञ्चालन क्षमता, बजार उपस्थिति र उत्पादन पोर्टफोलियो सुधारमा विशेष ध्यान दिँदै आएको छ। बजारमा आफ्नो उपस्थिति विस्तार गर्न तथा विभिन्न मूल्य र उपभोग समूहलाई लक्षित गर्न कम्पनीले ७० युपि, ५० युपि र ४० युपि सेग्मेन्टमा उत्पादन विस्तार गरेको छ।

कम्पनीका प्रमुख उत्पादनमा ‘जोश प्योर एन्ड स्मुथ’ ह्विस्की, ‘सगुन एप्पल’ ह्विस्की, ‘सगुन गोल्ड’ ह्विस्की, ‘सगुन ग्रिन एप्पल’ ह्विस्की तथा ‘ओएसिस अल्ट्रा–प्रिमियम’ भोड्का रहेका छन्। कम्पनीले आफ्नो विगतको स्थापित ब्रान्ड ‘माउन्ट एभरेष्ट’ लाई समेत पुनः बजारमा सक्रिय बनाउने योजना अघि सारेको छ।

श्री डिस्टिलरीसँग डिस्टिलरी तथा स्पिरिट उत्पादनसम्बन्धी दुवै इजाजतपत्र रहेका छन्। कम्पनीको कुल स्थापित उत्पादन क्षमता वार्षिक ९ लाख केस रहेको छ। साथै, कम्पनीसँग वार्षिक ८ हजार किलो लिटरसम्म स्पिरिट उत्पादन गर्न सक्ने अनुमति पनि रहेको छ।

नेपालमा दर्ता भएका करिब १२५ वटा डिस्टिलरीमध्ये सीमित कम्पनीसँग मात्र स्पिरिट उत्पादनको यस्तो लाइसेन्स रहेको अवस्थामा श्री डिस्टिलरीसँग दुवै प्रकारका लाइसेन्स रहेको छ । 

श्री डिस्टिलरीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड १२ लाख रुपैयाँ बराबरको १५ लाख १२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।