काठमाडौं : नेपाल-कोरिया सम्बन्धलाई श्रम तथा रोजगारीमा मात्र सीमित नराखी लगानी, प्रविधि, सीप, उत्पादन, व्यापार तथा उद्यमशीलताको साझेदारीमा विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल-कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा काठमाडौंमा सम्पन्न ‘नेपाल-कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका नेपाली रिटर्नी उद्यमीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने बताए ।
उनले नेपाल-कोरिया सम्बन्धलाई कूटनीतिक र सांस्कृतिक सम्बन्धसँगै आर्थिक तथा व्यावसायिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
ढकालले कोरियाले पछिल्ला दशकमा हासिल गरेको औद्योगिक विकासबाट नेपालले अनुशासित कार्यसंस्कृति, गुणस्तर, प्रविधि, निर्यातमुखी उत्पादन तथा सरकार–निजी क्षेत्र सहकार्यका क्षेत्रमा महत्वपूर्ण पाठ सिक्न सक्ने बताए ।
रिटर्नी उद्यमीले कोरियामा सिकेको कार्यसंस्कृति र उत्पादकत्वलाई स्वदेशी उद्योगमा प्रयोग गर्न सके नेपालको औद्योगिक चरित्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो ।
उनले जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गरे । भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणलाई उपयोग गर्दै नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने उनले बताए ।
देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै ढकालले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीलाई लगानी साझेदारीको अवसर उपलब्ध गराउन सकिने बताए । सानो पुँजी भएका लगानीकर्ताका लागि पनि उपयुक्त माध्यमबाट लगानीको अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क ते-युङ, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० नेपालका कन्ट्री डाइरेक्टर कङ मू-हुन, एफएनसीसीआई कार्यसमिति सदस्य तथा रोजगार परिषद्का उपाध्यक्ष बाबुकाजी कार्की, नेपाल–कोरिया उद्यमी व्यवसायी संघका सल्लाहकार तथा पूर्वकूटनीतिज्ञ यादव खनाललगायतको उपस्थिति थियो ।
प्यानल छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदी र नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठलगायतले नेपाल-कोरिया आर्थिक तथा व्यावसायिक सहकार्य विस्तारका लागि आवश्यक नीतिगत, संस्थागत तथा वित्तीय सहजीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । छलफलमा श्रम, उद्योग, लगानी, वित्तीय पहुँच, प्रविधि हस्तान्तरण तथा रिटर्नी उद्यमीका विषयमा विस्तृत विचार-विमर्श भएको थियो ।
संघका महासचिव जितेन्द्र बानियाँले नेपाल-कोरिया सम्बन्धलाई श्रम र रोजगारीको सम्बन्धबाट माथि उठाएर आर्थिक तथा व्यावसायिक साझेदारीमा विस्तार गर्नुपर्ने बताए ।
कोरियाबाट फर्किएका नेपालीसँग सीप, पुँजी, प्रविधि, कार्यसंस्कृति र अन्तर्राष्ट्रिय बजारको अनुभव रहेको उल्लेख गर्दै उनले उनीहरूलाई स्वदेशमै लगानी र उत्पादनमा जोड्नुपर्ने आवश्यकता औँल्याए।
संघका सचिव नेत्र पौडेलले संघको आगामी योजना, संस्थागत विकास तथा सदस्यता विस्तारबारे जानकारी गराएका थिए । कार्यक्रममा उठेका विषय तथा प्यानल छलफलका आधारमा डा. सञ्जीव हुमागाईंले समग्र निष्कर्ष तथा नीतिगत सुझाव प्रस्तुत गर्दै सरकार, निजी क्षेत्र, वित्तीय संस्था, कूटनीतिक नियोग, कोइका तथा रिटर्नी उद्यमीबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष प्रेमकुमार गुरुङले गरेका थिए । संघले नेपाल र कोरियाबीचको आर्थिक सम्बन्धलाई नयाँ आयाम दिन, कोरियाबाट फर्किएका नेपालीको सीप, पुँजी, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न तथा सम्भावित कोरियाली लगानीकर्तासँग नेपाली उद्यमीलाई जोड्न आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ ।
कार्यक्रमका सहभागीहरूले नेपाल-कोरिया आर्थिक सहकार्यलाई संस्थागत र दीर्घकालीन बनाउन सरकारी निकाय, निजी क्षेत्र, कूटनीतिक नियोग, विकास साझेदार संस्था तथा रिटर्नी उद्यमीबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।