काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रोल्पामा सडक खन्ने क्रममा थुप्रिएको माटोमा वर्षाको पानी पर्दा आकस्मिक बाढी आएको हुनसक्ने बताएका छन् ।
सोमबार आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उनले प्राधिकरणको प्राविधिक टोलीले गरेको अध्ययनका क्रममा सडक खन्दा पहिरो गएको र त्यसबाट आएको माटो सडकको शिरानमा थुप्रिएको पाइएको बताए ।
उनका अनुसार उक्त क्षेत्रमा ४० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा थुप्रिएको ग्रेगान बगाएर ल्याएकाले एकैपटक आकस्मिक बाढी आएको हुनसक्ने देखिएको छ ।
उनले भने, ‘रोल्पाको घटनालाई हाम्रो प्राविधिक टोलीले हेर्दा सडक खनेको अवस्था, सडक खन्दा पहिरो आएर माटो त्यसको शिरानमा थुप्रिएको र त्यो ठाउँमा थोरै पानी पर्दाखेरी पनि ४० देखि ५० मिलिमिटर वर्षा भएको देखिन्छ । त्यसले सबै ग्रेगान तानेर ल्याउँदा एकैचोटी आकस्मिक बाढी आएको सम्भावना देखिन्छ ।’
जाजरकोटमा बाढीपहिरोको घटना बढ्नुको कारणबारे मौसम विभागसँग छलफल गरी २४ घण्टा, ४८ घण्टा, ७२ घण्टा र सात दिनको वर्षाको विश्लेषण गरिएको उनले बताए ।
उप्रेतीका अनुसार लगातारको वर्षाका कारण जमिनको ‘थ्रेसहोल्ड’ पुगेपछि पहिरो जाने सम्भावना बढेको हुनसक्ने देखिएको छ । भूकम्पको जोखिम रहेको क्षेत्रमा पहिल्यै चिरा परेको र त्यसमा लगातार पानी पर्दा जोखिम थप बढेको उनको भनाइ छ ।
यस्तै, प्राधिकरणका सहसचिव प्रदीपकुमार कोइरालाले चालु मनसुन अवधिमा हालसम्म १ हजार ३ सय १३ वटा विपद्का घटना भएको जानकारी दिए । ती घटनामा ६७ जनाको मृत्यु भएको उनले बताए ।
गत वर्षको सोही अवधिमा ५ सय ७१ वटा विपद्का घटना हुँदा ४३ जनाको मृत्यु भएको उल्लेख गर्दै कोइरालाले यस वर्ष कुल घटनाको तुलनामा मृत्युको अनुपात घटेको बताए ।
‘हामीले १३ सय १३ वटा विपद्का घटना देख्यौं । त्यसमा ६७ जनाको मृत्यु भयो भनेको ५ प्रतिशत टोटल घटनाबाट मृत्यु हुँदो रहेछ । सोही अवधिमा गत वर्ष घटना ५७१ वटा र मृत्यु ४३ वटा भनेको साढे ७ प्रतिशत रहेछ,’ उनले भने, ‘यही अवधिमा गत वर्ष साढे ७ प्रतिशत मृत्यु भएकोमा अहिले ५ प्रतिशत मात्र मृत्यु भएको छ भने एक किसिमले राम्रै गरेको छौं भनेर हामीले मानेका छौं,’ उनले भने ।
कोइरालाले पछिल्लो एक दशकको विपद्को तथ्यांक विश्लेषण गर्दा बाढीबाट हुने मृत्यु घट्दै गए पनि पहिरोबाट हुने मृत्यु बढ्दै गएको बताए ।
उनका अनुसार २०७२ देखि २०८२ सालसम्मको तथ्यांकलाई त्यसअघिको दश वर्षसँग तुलना गर्दा बाढीबाट हुने मानवीय क्षति घटेको देखिन्छ । पूर्वानुमान, पूर्वसूचना प्रणाली तथा साइरनलगायतका उपायका कारण बाढीबाट हुने क्षति कम गर्न सहयोग पुगेको उनको भनाइ छ ।
‘पहिला बाढीबाट मृत्यु हुनेको संख्या बढी थियो भने अहिले बाढीबाट घटेर पहिरोबाट मृत्यु हुनेको संख्या बढ्यो,’ उनले भने ।
अब विपद् व्यवस्थापनमा पहिरो नियन्त्रण, पहिरोको पूर्वसूचना प्रणाली विकास तथा पहिरोको जोखिम न्यूनीकरणका लागि जिम्मेवारी निर्धारण गर्नुपर्ने उनले बताए ।
‘हामीले छलफल आगामी दिनमा गर्नुपर्ने भनेको पहिरो कसरी नियन्त्रण गर्ने, पहिरोको पूर्वसूचना कसरी दिने र पहिरो नआउने वातावरण कसरी तयार पार्ने र को जिम्मेवार छ पहिरो ल्याउनेमा भन्ने विषयमा छलफल चलायौं भने हामीलाई सहज भई अगाडि बढ्न सकिन्छ,’ कोइरालाले भने ।